काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढ्दै गएको बताएका छन् । आइतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताएका हुन् । उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको आरोप लगाए ।
देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने भन्दै नेपालले देश किन बनेन भनेर सबैले सोच्नुपर्ने बेला आएको बताए । उनले बालुवाटारमा हेलिप्याड आवश्यकनै नरहेको बताए ।
उनले भने, ‘म देशको प्रधानमन्त्री भएँ, त्यस्तो देखेको थिइनँ, अहिले त्यो सुन्दा सुन्दा दिक्क भइरहेछ, कति भ्रष्ट भइसकेछ हाम्रो यो सिस्टम, अरुले त अलिअलि गरे होला, तर सबैभन्दा भ्रष्ट हाम्रो केपीजीको पालोमा भ्रष्टाचारले सीमा नाघ्यो, गफमा भ्रष्टाचार गर्दिन, गरेको पनि सहँदिन, गफ, यस्ता गफाडीहरुको हातमा यो देश गयो, अनुसन्धानको खाँचो छ।’
अध्यक्ष नेपालले राष्ट्रपति भवनमा समेत हेलिप्याड बनाउने कुरा चलिरहेको भन्दै हेलिप्याड बनाउने कुरामा आफ्नो बिरोध रहेको बताए । उनले देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान शुरु गर्नुपर्ने बताए ।