न्यायालयमा देखिएको विवाद समाधान नगरी प्रधानमन्त्री विदेश भ्रमणमा निस्कदा राष्ट्रकै बेइज्जत भयोः पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी गरे।

उनले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नुपर्नेमा प्रधानमन्त्री विदेश भ्रमणमा जानु अनुचित भएको बताए । कानुनमन्त्रीले यो समस्या समाधान गर्न नसक्ने भन्दै पूर्व राष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँर्याएको बताए ।

उनले भने, ‘न्यायालयमा सारा न्यायाधीशहरु एकातिर छ । बुद्धिजीविहरु एकातिर छन् । संविधानविद्हरु, कानुनविद्हरु एकातिर छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन् कि म छोडदिन । केही नभएपनि एक्लै बेञ्चमा बस्छ । कसको तागतमा ? सरकारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन ?’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । उनले संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *