एजेन्सी । लण्डन क्लब आर्सनलले इङ्लिस प्रिमियर लिगमा शानदार जित निकालेको छ । शनिबार बेलुकी भएको खेलमा लेस्चर सिटीलाई २-० गोलले हराउँदै आर्सनलले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।
किङ पावर रंगशालामा भएको खेलमा आर्सनललाई जित दिलाउन गाब्रियल र इमिले स्मिथ-रोवेले समान १/१ गोल गरे । खेलको पाँचौ मिनेटमै साकाको पासमा गाब्रियलले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा स्मिथले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनल २-० गोलले विजयी भयो । जितसँगै आर्सनल १० खेलबाट १७ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित लेस्चर समान खेलबाट १४ अङ्कको साथ दसौं स्थानमा झरेको छ ।