एजेन्सी । युवा फरवार्ड भिनिसियस जुनियरको दुई गोलको सहयोगमा रियल म्याड्रिडले स्पेनिस लिग ला लिगामा जित निकालेको छ । शनिबार बेलुकी भएको खेलमा १० खेलाडीमा समेटिएको इन्चेलाई २-१ गोलले हराउँदै म्याड्रिड लिगको शिर्ष स्थानमा उक्लिएको हो ।
रियल म्याड्रिडलाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गर्दा इल्चेको लागि पेरे मिल्लाले एक गोल फर्काए । खेलको २२ औं मिनेटमै मारियानो डियाजको पासमा भिनिले गोल गर्दै रियल म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए । ६४ औं मिनेटमा राहुल गुटी दुई पहेँलो कार्ड सहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि इल्चे बाँकी समय १० खेलाडीमा रहेर खेलेको थियो ।
७३ औं मिनेटमा लुका मोड्रिकको पासमा भिनिले व्यक्तिगत दोस्रो गोल गर्दै रियल म्याड्रिडको अग्रता दोब्बर बनाए । ८६ औं मिनेटमा बेनेडेट्टोको पासमा पेरे मिल्लाले गोल गर्दै इल्चेलाई २-१ गोलको अवस्थामा ल्याए । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-१ गोलले विजयी भयो ।
जितसँगै म्याड्रिड ११ खेलबाट २४ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । पराजित इल्चे १२ खेलबाट १० अङ्कको साथ १५ औं स्थानमा यथावत छ ।