काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस देश ‘भडुवा’ पार्टी भएको आरोप लगाएका छन् । शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले अर्काको पार्टी भत्काउनेलाई कांग्रेसले बोक्ने गरेको आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएकोसमेत बताए । उनले भने,‘पाँच वर्षमा महाधिवेशनमा गर्न सकेन । मिल्ने भए अझै समय थप्ने थियो । कांग्रेस बुढो भयो, विचारले पनि बुढो छ । महाधिवशेन गर्न नसक्नेले पार्टीले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन ।’
उनले एमालेलाई समाप्त गर्न कसैले पनि नसक्ने भन्दै माधव नेपाललाई दौडधूपमा लाग्न छाडेर घरमा आराम गर्न सुझाव दिए । उनले भने, माधव नेपाल कुदेको देख्दा माया लागेर आउँछ । कहिले पोखरा, कहिला कता हातमा टोपी लिएर कुदेको देख्दा माया लाग्छ । किन कुदेको थाहा छ ? एमाले मार्न । तर त्यो अभिष्ट पूरा हुँदेन।’
उनले एमालेका विरोधीहरु वास्तवमै देश विरोधी भएको आरोप लगाए । उनले भने,‘हाम्रो विकासको अभियान देखेर हाम्रा विरोधीहरु आत्तिएका छन्। एमाले विरोधी भनेको वास्तवमा देश विरोधी हो। राष्ट्रियता विरोधी हो।’ ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी सामेल गरेर नक्सा छापिएपछि विरोधीहरुले सरकार नढाली नहुने कसम खाएको बताए।