अधिकारकर्मीको खोल ओढेर ब्रिटिश नागरिक मानव तस्करीमा संलग्न !

काठमाडौं । आप्रवासी कामदारको पक्षमा काम गर्ने व्यक्ति मानव तस्करीमा संलग्न छ भन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ । त्यसमा पनि विदेशी नागरिक । आफूलाई आप्रवासी कामदारको पक्षमा काम गर्ने अधिकारकर्मी बताउने बेलायती नागरिक एन्डी हलले अहिले नेपालमा म्यानपावरसँगको मिमेमोतोमा यस्तै काम गरेको तथ्य खुलेको छ ।

भिसा अवधि सकिएर लामो समयदेखि अवैध रुपमा नेपालमा बसिरहेका उनी म्यानपावर व्यवसायी वाइबी राईको आईएमआर ग्रुपसँग मिलेर कामदार विदेश पठाउने काममा सक्रिय भएको खुलेको हो । मानव तस्करीमा सक्रिय एण्डीले विभिन्न दुतावास र रोजगार कम्पनीमा पुगेर राईको कम्पनी राम्रो छ भन्दै मार्केटिङ गर्दै आएका छन् । राईको कम्पनीको मार्केटिङ गरेबापत उनले निश्चित प्रतिशत कमिसन लिने गरेको छ ।

को हुन् एण्डी ?
बेलायती नागरिक एण्डी आफूलाई आप्रवासी कामदारको पक्षमा काम गर्ने अधिकारकर्मीको रुपमा चिनाउँछन् । आफूलाई अनुसन्धानकर्ता बताउने उनी आफूले बेलायत र अष्ट्रेलियामा अध्ययन पश्चात सन् २००५ देखि २०१६ सम्म थाइल्याण्डमा बसेको उनी बताउँछन् । उनी कामदार लैजान नपाइने अमेरिका, म्यान्मार, इन्डोनेशिया, लाओस लगायतका देशमा कामदारका पक्षमा काम गरेको दावी गर्छन् । तर ती देशमा उनलाई त्यहाँको सरकारले प्रवेश अनुमति दिएका छैनन् ।  मानव तस्करीमा संलग्न भएकैले उनलाई ती देशले प्रवेश दिने गरेका छैनन् ।

आफ्नो अभियानले राष्ट्रसंघीय एजेन्सी, नागरिक समाज, सरकारी तथा निजी क्षेत्रको क्षमता अभिवृद्धि भएको बताउँछन् । तर उनले आफ्नो बारेमा यसरी बताएपनि उनी थाइल्याण्डमा भने मानव अधिकारको आवरणमा मानव तस्करीको अभियोगमा तीन वर्ष जेल परेका थिए ।

उनी जेल परेको बेलामा थाइल्याण्डको एउटा नेचुरल फ्रुट उद्योगमा आप्रवासी कामदारहरूलाई लामो समय दुर्व्यवहार गरेको आरोपमा उनीविरुद्ध अर्को मुद्दा परेको थियो । जेलमा नै भएको अवस्थामा उनलाई त्यहाँको अदालतले दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनायो । तीन वर्षको सजायपछि भागेर मलेसिया पुगेका थिए । आप्रवासी कामदारको पक्षमा काम गरेको बताएपनि त्यहाँ उनी कामदारलाई रोजगार कम्पनी र दुतावासमा पुगेर डिमाण्ड लिनेर म्यानपावरलाई दिने काम गर्दै आएका छन् । मानव तस्करीमा सलंग्न एण्डीलाई मलेशियामा प्रहरीले खोजी सुरु गरेपछि उनी भागेर दुई वर्षअघि नेपाल आएका थिए।

नेपालमा के गर्दैछन् एण्डी ?
दुई वर्षअघि नेपाल आएका उनी अहिले भिसा सकिएर अवैध रुपमा नेपालमा बसिरहेका छन् । उनी अहिले म्यानपावर कम्पनीसँग मिलेर बाहिर कामदार पठाउने काममा संलग्न रहेको उनलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् । उनले नेकपा (एकीकृत समाजवादी) पार्टीको समाजवादी वैदेशिक रोजगार मञ्चका अध्यक्ष वाइबी राईको म्यानपावर कम्पनी आईएमआर ग्रुपसँग मिलेर काम गरिरहेका छन् । उनी अहिले विभिन्न दूवावासमा गएर कामदारको मागपत्र झिकाउन लबिङ गर्ने र विदेश कामदार पठाए बापत ठूलो रकम लिने काममा लागेका छन् । अध्यक्ष राईले एण्डीलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठसमक्ष भेट गराईसकेका छन् ।

राईले विदेशी नागरिक एण्डीलाई प्रयोग गरी गैरकानुनी कार्यमा सलंग्न भएको छ । एण्डीलाई ठूलो अधिकारकर्मीको रुपमा चिनाउने राईले अवैध रूपमा विदेशी नागरिकलाई प्रयोग गरिरहेको खुलेको छ । अवैध रुपमा बसेर कामदार विदेश पठाउन संलग्न हुनु आफैंमा आपराधिक काम हो । राजनीतिक आडमा यस्ता व्यक्तिलाई संरक्षण दिनु झनै ठूलो अपराध हो । दुई वर्षदेखि नेपालमा रहेका एण्डीले कति मानिसलाई यसरी विदेश पठाइसके होलान् । यसकाबारेमा अनुसन्धान गरी उनलाई कारबाही गर्नुपर्ने कतिपय म्यानपावर व्यवसायीले समेत बताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *