एजेन्सी । असिफ अलीले आक्रमक ब्याटिङ गर्दै ४ छक्का प्रहार गरेपछि पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको छ । शुक्रबार राति भएको खेलमा अफ्गानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तानले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।
जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १ ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । पाकिस्तानको लागि कप्तान बाबर अजामले अर्धसतक पूरा गरे । उनले ४७ बलमा ४ चौका प्रहार गरे । यस्तै असिफ अलीले १९ ओभरमा ४ छक्का प्रहार गर्दै पाकिस्तानलाई जित दिलाए । उनले ७ बलमा २५ रन बनाए । फखर जमानले २५ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाउँदा शोऐब मालिकले १९ र मोहम्मद हफिजले १० रनको योगदान गरे ।
अफ्गानिस्तानको लागि रसिद खानले ४ ओभरमा २६ रन दिएर २ विकेट लिँदा मुजिब उर रहमान, मोहम्मद नाबी र नभिन उल हकले १/१ विकेट लिए ।
यसअघि दुबई क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको अफ्गानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ बनाएको थियो । एक समय ७६ रन जोड्दा ६ विकेट गुमाएको अफ्गानिस्तानको इनिङ्स मोहम्मद नाबी र गुल्बादिन नाइबले उकासेका थिए । नाबीले ३२ बलमा ५ चौकासहित ३५ रन बनाउँदा नाइबले २५ बलमा ३५ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै नाजिबुल्लाह जाद्रनले २२, करिम जन्नतले १५ र रहमानुल्लाह गुर्बाज र अस्घर अफ्गानले समान १०/१० रन जोडे ।
पाकिस्तानको लागि इमाद वासिमले ४ ओभरमा २५ रन दिएर २ विकेट लिँदा शहिन शाह अफ्रिदी, हारिस राउफ, हसन अली र शदाब खानले समान १/१ विकेट लिए ।
जितसँगै पाकिस्तान समूह २ मा लगातार तेस्रो जित निकाल्दै ६ अङ्कको साथ शिर्ष स्थानमा रहेको छ । पराजित अफ्गानिस्तान २ खेलबाट २ अङ्क जोड्दै दोस्रो स्थानमा छ । आज हुने खेलमा दक्षिण अफ्रिका र श्रीलंका तथा अष्ट्रेलिया र इङ्ल्यान्ड भिड्दैछन् ।