एजेन्सी । अर्जेन्टिनी विंगर एन्जल डि मारिया चम्केको खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले पुनरागमन जित निकालेको छ । शुक्रबार राति फ्रेन्च लिग अन्तर्गत भएको खेलमा पीएसजीले लिललाई २-१ गोलले हराउँदै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।
पार्क डेस प्रिन्सेसमा भएको खेलमा पीएसजीलाई जित दिलाउन मार्किन्होस र एन्जल डि मारियाले एक/एक गोल गरे । लिलको लागि जोन्थन डेभिडले एक गोल फर्काए । खेलको ३१ औं मिनेटमा यिल्माजको पासमा डेभिडले गोल गर्दै लिललाई खेलमा अगाडि बढाएका थिए ।
७४ औं मिनेटमा डि मारियाको पासमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए । यस्तै ८८ औं मिनेटमा नेयमारको पासमा डि मारियाले गोल गर्दै पीएसजीलाई २-१ गोलको जित दिलाए । जितसँगै पीएसजी १२ खेलबाट ३१ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत रहेको छ । पराजित लिल १२ खेलबाट १५ अङ्कको साथ ११ औं स्थानमा छ ।