नेता मिलाउन सहमहामन्त्री थप्ने रणनीति

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा सहज बनाउन तीन सहमहामन्त्री थप गर्ने पक्षमा देखिएका हुन् ।

दुवै समूहका दोस्रो तहका नेताहरूले सभापतिमै प्रतिस्पर्धा गर्ने जनाउँदै तयारी गरिरहेका बेला सहमहामन्त्रीको पद थप गरेर निकट नेताहरूलाई आफ्नै समूहमा व्यवस्थापन गर्ने रणनीति देउवा र पौडेलले लिएको स्रोतको दाबी छ।

सहमहामन्त्री थप गर्दा पद नपाएर अर्को समूहमा जानसक्ने नेताहरूलाई रोक्न सकिने दुवै नेताहरूको बुझाइ छ। यसबाट सभापतिको प्रत्यासी बन्ने घोषणासहित तयारीमा जुटेका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कमजोर हुने बुझाइमा देउवा र पौडेल रहेको एक नेताले बताए।

सहमहामन्त्रीका आकांक्षी नेताहरूको व्यवस्थापन गर्न नसके निधि, सिटौलासहितका समूहबाट महामन्त्रीको प्रत्यासी बन्नसक्ने बुझाइ देउवा र पौडेलको छ। यस्तो हुन नदिन सहमहामन्त्रीको संख्या बढाउने पक्षमा देउवा र पौडेल रहेका छन्।

देउवा सहमहामन्त्रीको पद बढाएर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्मासहितका नेतालाई आफ्नै समूहमा समेट्ने पक्षमा छन्। शर्मासहितका संस्थापन पक्षका अन्य नेतालाई समेट्न नसक्दा उनीहरू निधि समूहमा जानसक्ने बुझाइमा देउवा रहेको निकट स्रोतको दाबी छ।

कम्तीमा तीन सहमहामन्त्री थप हुँदा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, सुनिलबहादुर थापा, विश्वप्रकाश शर्मासहितका नेतालाई महामन्त्री र सहमहामन्त्रीमा राखेर टिम निर्माण गर्न सकिने देउवासहित उनी निकट नेताहरूको बुझाइ छ। यसबाट सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका निधि थप कमजोर हुने उनीहरूको विश्लेषण छ। संस्थापन पक्षका गोपालमान श्रेष्ठले पनि सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन्।

त्यस्तै, संस्थापन इतर समूहबाट आधा दर्जन नेताले सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका छन्। तर, संस्थापन इतर पक्षबाट सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला एकअर्कालाई मान्न तयार नहुने र अन्तिममा यो समूहबाट आफू सभापतिको उम्मेदवार बन्ने विश्लेषणमा नेता पौडेल छन्।

१३ औं महाधिवेशनमा तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन पक्षबाट विद्रोह गरेपछि सभापति हुन नसकेका पौडेल यसपटक उनलाई साथ दिएका नेताहरूलाई आफ्नो समूहमा तान्ने रणनीतिमा रहेको आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

preload imagepreload image