काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा १०औं महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनअघि एमालेले वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गरेको छ । कतिपय ठाउँमा सर्वसम्मत त कतिपय ठाउँमा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ । केही ठाउँमा बाँकी रहेका अधिवेशन कात्तिक मसान्तभित्र सक्नुपर्ने निर्देशन पनि एमालेले दिइसकेको छ ।
१०औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरिसकेको एमाले अब क्रमशः जिल्ला, प्रदेशको अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारीमा छ । एमालेको महाधिवेशन १० देखि १३ मंसिरसम्म हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भइसकेको छ ।
बिहीबार बसेको स्थायी कमिटीको बैठकले वडा, पालिकास्तरको अधिवेशनको समीक्षाका साथै महाधिवेशन प्रतिनिधि चयनको मापदण्डबारे छलफल गरेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । शुक्रबार केन्द्रीय कमिटीको बैठक बस्दै छ । स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्न केन्द्रीय कमिटीको बैठक बस्नेछ । अन्तिम र एकअर्को केन्द्रीय कमिटीको बैठक महाधिवेशनको पूर्वसन्ध्यामा बस्नेछ ।
१०औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली नै देखिएका छन् । ओलीकै लागि प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गरिसकिएको छ । नवौं महाधिवेशनबाट पारित विधानअनुसार ७० वर्ष पुगेपछि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने थियो ।
तर, प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गर्दै आगामी फागुनमा ७० वर्ष पुग्न लागेका ओलीका लागि सहज बनाइएको छ । ७० वर्ष नपुग्दै कुनै नेता कुनै पनि पदमा निर्वाचित भएपछि बीचमै सक्रिय राजनीतिबाट बिदा नभई पूरा कार्यकाल जिम्मेवारी वहन गर्न पाउनेगरी भएको व्याख्या विशेषतः ओलीकै लागि हो ।
यद्यपि अध्यक्ष ओलीले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा अझै गरेका छैनन् । तर, उनीनिकटका नेताहरू आगामी महाधिवेशनमा ‘ओलीको विकल्प ओली’ नै भएको बताउँछन् ।
एमाले स्थायी कमिटीका सदस्य एवं ओली निकटका नेता शंकर पोखरेल आगामी महाधिवेशनबाट अध्यक्षमा ओली र आगामी निर्वाचनबाट प्रधानमन्त्रीमा ओली नै हुने बताउँछन् । सार्वजनिक कार्यक्रममा समेत उनीनिकट नेताहरूले ओलीको विकल्प एमालेमा नभएको ठोकुवा गर्दै आएका छन् । राजधानी दैनिकबाट