काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटी बैठकले १५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार हरेक निर्वाचन क्षेत्रबाट १५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोट हुने छन् । भूगोल कमिटीहरूबाट कुल ११९६ जना प्रतिनिधि छनोट हुनेछन् ।
बाँकी गैरभूगोलबाट ३४० जना गरी कुल १५३६ प्रतिनिधि छनोट गरिने ज्ञवालीले जानकारी दिए । महाधिवेशनमा ५१ प्रतिशत समावेशी अनि ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने र विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए । आजको स्थायी कमिटीको निर्णयलाई शुक्रबारको केन्द्रीय कमिटीबाट अनुमोदन गरिने उनले बताए ।