काठमाडौं । विवेकशील साझा पार्टीले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्ताबेज ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’लाई अङ्गीकार गर्ने निर्णय गर्दै दुई–तिहाइ भन्दा बढी मतले पारित गरेको छ ।
केन्द्रीय समितिको बिहीबार बसेको बैठकले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन् ।
त्यसैगरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ । पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो ।
बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।