बंगलादेशमाथि इङ्ल्यान्डको सहज जित

एजेन्सी । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इङ्ल्यान्डले सहज जित निकालेको छ । बुधबार दिउँसो भएको खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै इङ्ल्यान्डले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

जितको लागि १ सय २५ रनको सामान्य लक्ष्य पछ्याएको इङ्ल्यान्डले १४.१ ओभरमै २ विकेटको क्षतिमा १ सय २६ रन बनाउँदै लक्ष्य भेट्टायो । इङ्ल्यान्डलाई जित दिलाउन जेसन रोएले सर्वाधिक ६१ रन जोडे । उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । डेविड मलान २५ बलमा ३ चौकासहित २८ रन बनाउँदै अवजित रहँदा जोस बट्लरले १८ र जोनी बैर्स्ट्रोले ८ रनको योगदान गरे ।

बंगलादेशको लागि शोरिफुल इस्लाम र नासुम अहमेदले समान १/१ विकेट लिए ।

यसअघि शरजाहमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन जोडेको थियो । एकसमय २६-३ को अवस्थामा रहेको बंगलादेशको इनिङ्स मुशफिर रहिम र महमुदुल्लाहले समाल्ने प्रयास गरेका थिए । रहिमले ३० बलमा ३ चौकासहित २९ रन जोडे । महमुदुल्लाहले १९, नासुम अहमेदले १९, नुरुल हसनले १६ र महेदी हसनले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

इङ्ल्यान्डको लागि ट्यमाल मिल्सले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए । मोइन अली र लिएम लिभिङ्स्टोनले समान २/२ विकेट लिँदा क्रिस वोक्सले १ विकेट लिए ।

जितसँगै इङ्ल्यान्ड २ खेलबाट ४ अङ्क जोड्दै समूह १ को शिर्ष स्थानमा रहेको छ । समूहको दुवै खेलमा पराजित बंगलादेश पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *