एजेन्सी । हारिस राउफले घातक बलिङ गरेपछि आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना थप बलियो बनाएको हो ।
जितको लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । पाकिस्तानको लागि मोहम्मद रिज्वानले सर्वाधिक ३३ रन जोडे । उनले ३४ बलमा ५ चौका प्रहार गरे । यस्तै असिफ अलीले २७ र शोइब मालिकले २६ रन जोड्दा फखर जमान, मोहम्मद हाफिज र इमाद वासिमले समान ११/११ रनको योगदान गरे ।
न्युजिल्यान्डको लागि ईश सोधीले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए । मिट्चेल सान्ट्नर, टिम साउथी र ट्रेन्ट बोल्टलेपनि समान १/१ विकेट लिए ।
यसअघि शरजाह क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन जोडेको थियो । न्युजिल्यान्डको लागि डार्यल मिट्चेल र डेभोन कोन्वेले समान २७/२७ रन बनाउँदा केन विलियमसनले २५, मार्टिन गुप्टिलले १७ र ग्लेन फिलिप्सले १३ रनको योगदान गरे ।
पाकिस्तानको लागि हारिस राउफले ४ ओभर बलिङ गर्दै २२ रन दिएर सर्वाधिक ४ विकेट लिए । यस्तै शाहेन शाह अफ्रिदी, इमाद वासिम र मोहम्मद हाफेजको नाममा एक/एक विकेट रह्यो ।
जितसँगै पाकिस्तान २ खेलबाट ४ अङ्क जोड्दै समूह २ को शिर्ष स्थानमा रहेको छ । जितसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना थप बलियो बनेको छ ।