एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत आज हुने खेलमा रियल म्याड्रिड र ओसासुना भिड्दैछन् । सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति १:१५ बजे शुरु हुनेछ ।
आइतबार भएको ‘एल क्लासिको’मा बार्सिलोनालाई २-१ गोलले पराजित गरेको म्याड्रिड आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । रियल म्याड्रिड आजको खेल जित्दै शिर्ष स्थानमा उक्लिन चाहन्छ । हाल म्याड्रिड लिगको ९ खेलबाट २० अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । एक खेल बढि खेल्दै २१ अङ्क जोडेको सोसिडाड शिर्ष स्थानमा छ ।
अन्तराष्ट्रिय ब्रेक अगाडि ३ खेलमा जित विहिन रहेको म्याड्रिडले पछिल्लो दुई खेलमा शात्खर डोनेटेक्स र बार्सिलोनालाई हराउँदै लय समातेको छ । यस सिजन म्याड्रिडले लिगमा २४ गोल गरिसकेको छ ।
यता यस सिजन उत्कृष्ट फर्ममा रहेको ओसासुनाले लिगको १० खेल मध्य ५ खेलमा जित निकालेको छ । हाल ओसासुना १० खेलबाट १८ अङ्क जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । शनिबार भएको खेलमा ग्रानाडासँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाढेको ओसासुनाले पछिल्लो ४ खेलमा भिल्लारियल, आल्भेस,भाल्लेकानो र मालोर्कालाई पराजित गरेको छ । त्यसैले आजको खेलमापनि ओसासुना म्याड्रिडसँग अङ्क खोस्ने दाउमा हुनेछ ।
दुई टोलीबिच भएको पछिल्लो १६ भेट मध्य १२ खेलमा रियल म्याड्रिड विजयी भएको छ भने १ खेल मात्र ओसासुनाले जितेको छ । पछिल्लोपटक ओसासुनाले सन् २०११ मा म्याड्रिडलाई हराएको थियो ।