टी-२० विश्वकपमा आज दुई खेल हुँदै

एजेन्सी । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने दिनको पहिलो खेलमा बंगलादेश र इङ्ल्यान्ड भिड्नेछन् । अबुधाबीमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ ।

संयोग के छ भने, हालसम्म बंगलादेश र इङ्ल्यान्ड टी-२० क्रिकेटमा भेट भएकै छैनन् । आज हुने खेल नै दुई टोलीबिचको पहिलो टी-२० खेल हुनेछ । पहिलो खेलमा वेस्ट इन्डिजमाथि सानदार जित निकालेको इङ्ल्यान्ड आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । अदिल रसिद, मोइन अली र ट्यमिल मिल्सको घातक बलिङको मद्दतमा इङ्ल्यान्डले वेस्ट इन्डिजलाई ५५ रनमै अल आउट गरेको थियो ।

तर जितको लागि झिनो लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४ विकेट गुमाएको थियो । जेसन रोय र जोस बट्लरलाई विश्वमै एक खतरनाक ओपनिङ जोडीको रुपमा हेरिन्छ । यस्तै डाविड मलान, जोनि बैर्स्ट्रो, लाइम लिभिङ स्टोन मोर्गानले बंगलादेशको बलिङ राम्रोसँग सामना गर्नेछन् । तर बंगलादेशविरुद्धपनि टोलीको बलियो आधार बलिङ नै रहनेछ ।

यता प्रतियोगिताको ३ खेलमा २ अर्धसतक पूरा गरेका बंगलादेशका मोहम्मद नाइमबाट टोलीले धेरै आशा राखेको छ । शकिब अल हसन, मुशफिर रहिम र कप्तान महमुदुल्लाहले बंगलादेशको मध्यक्रम समाल्नेछन् । पहिलो चरण पार गर्दै सुपर १२ मा प्रवेश गरेको बंगलादेशको लक्ष्य सेमिफाइनल पुग्ने रहेको छ । त्यसको लागि टोलीले आजको खेल जित्दै सुपर १२ मा पहिलो जित निकाल्नुपर्नेछ । इङ्ल्यान्डसँग पराजित भएको खण्डमा बंगलादेशको सेमिफाइनल यात्रा कठिन बन्नेछ ।

नामिबिया विरुद्ध स्कटल्यान्ड

आजै हुने दोस्रो खेलमा दुई एसोसिएट टोली नामिबिया र स्कटल्यान्ड भिड्नेछन् । अबुधाबीमै हुने खेल नेपाली समय अनुसार राति ७:४५ बजे शुरु हुनेछ ।

यस खेलमा दुवै टोली सुपर १२ मा पहिलो जितको खोजीमा हुनेछन् । पहिलो चरणको खेलमा अपराजित रहँदै सुपर १२ मा प्रवेश गरेको स्कटल्यान्डले सोमबार अफ्गानिस्तानसँग भएको खेलमा १ सय ३० रनको हार चाखेको थियो । स्कटल्यान्डको ब्याटिङ अफ्गानी स्पिनर मुजिब उर रहमान र रसिद खानको अगाडि कमजोर देखिएको थियो । त्यसैले आजको खेलमा स्कटल्यान्डसँग पुनरागमन गर्ने अवसर रहेको छ ।

यता एतिहासिक सफलता हात पार्दै पहिलोपटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको नामिबिया आजको खेलमा जित निकाल्दै दोस्रो चरणको शानदार शुरुवात गर्न चाहन्छ । अन्य बलिया राष्ट्रसँग खेल्नु अगाडि नामिबिया आजको खेल जित्दै आफ्नो आत्मबल बढाउन चाहन्छ ।

विश्वकप खेल्नु अगाडि यहि महिना नामिबिया र स्कटल्यान्डले दुई खेल खेलेका थिए । दुवै खेलमा स्कटल्यान्ड पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *