टी-२० विश्वकप: वेस्ट इन्डिजको लगातार दोस्रो हार

एजेन्सी । आईसीसी टी-२० विश्वकपमा सविक विजेता वेस्ट इन्डिजले लगातार दोस्रो हार बेहोरेको छ । मंगलबार बेलुकी सम्पन्न सुपर १२ को खेलमा दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित हुँदै इन्डिजले प्रतियोगितामा दोस्रो हार बेहोरेको हो । हारसँगै वेस्ट इन्डिजको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ ।

जितको लागि १ सय ४४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १० बल बाँकी छँदै २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । अफ्रिकालाई जित दिलाउन एइडेन मार्क्रमले अर्धसतक पूरा गरे । उनले बिस्फोटक ब्याटिङ गर्दै २६ बलमा ४ छक्का र २ चौकासहित ५१ रन जोडे । उनले रासे भान डेर डुसेनसँग तेस्रो विकेटको लागि ८३ रनको साझेदारी गरे । डुसेनले ५१ बलमा ३ चौकासहित ४३ रन जोडे । रेजा हेन्ड्रिक्सले ३० बलमा ४ चौका र १ छक्कासहित ३९ रन बनाए ।

वेस्ट इन्डिजको लागि अकेल होसेइनले ४ ओभरमा २७ रन दिएर १ विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा वेस्ट इन्डिजले एभिन लुइसको अर्धसतकको मद्दतमा निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो । टोलीको लागि लुइसले ३५ बलमा सर्वाधिक ५६ रन जोडे । उनले ६ छक्का र ३ चौका प्रहार गरे । यस्तै केइरोन पोलार्डले २० बलमा २ चौका र १ छक्कासहित २६ रन बनाउँदा लेन्डिल सिमोन्सले १६, निकोलस पोरान र क्रिस गेलले समान १२/१२ रन जोडे ।

दक्षिण अफ्रिकाको लागि ड्वाइने प्रेटोरिउसले २ ओभरमा १७ रन दिएर ३ विकेट लिए । केशव महराजले ४ ओभरमा २४ रन खर्चिँदै २ विकेट लिँदा कागिसो रबडा र अन्रिच नोर्त्जेले एक/एक विकेट लिए ।

जितसँगै दक्षिण अफ्रिका २ खेलबाट २ अङ्क जोड्दै समूह १ को चौथो स्थानमा रहेको छ । लगातार दोस्रो खेलमा पराजित वेस्ट इन्डिज समूहको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *