परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयबाट पार्टीको पालिका अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन् ।

परमादेश पाँच जनाले सर्वसम्मत फैसला गरेकाले सबैले राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘आज सर्वोच्च अदालतमा समस्या देखिएको छ। श्रीमान् न्यायाधीशहरुले कस कसले के गर्नु भएको थियो । अलि खुलेको छ । परमादेश पाँच जनाले सर्वसम्मत फैसला गरेका हुन् । एक जनाको मात्रै किन राजीनामाको कुरा गर्नु भएको छ ? पाँचै जनाले राजीनामा गर्नुपर्छ ।’

उनले लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको दाबी गरे । उनले भने, ‘राष्ट्र निर्माणका बारेमा सोच्ने अरु कुनै पार्टीको छैन । एमालेको मात्रै छ । अरु पार्टी साना स्वार्थको भूमरीमा रुमलिइरहेका छन् ।’

उनले सुशासन र विकासको बाटोबाट समृद्धि हासिल गर्ने उद्देश्य एमालेले राखेको बताए । अध्यक्षले लोकतन्त्रको नाममा सत्ता गठबन्धनले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *