एसिया कप छनोट: नेपाल इरानसँग पराजित

काठमाडौं । एएफसी यु-२३ एसिया कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको छनोटको आफ्नो पहिलो खेलमा नेपाली युवा टोली इरान यु-२३ सँग ४-० गोलले पराजित भएको हो ।

ताजिकिस्तानमा भएको खेलको पहिलो हाफमा बलियो इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा सोही लयलाई निरन्तरता दिन सकेन । पहिलो हाफको १७ औं मिनेटमा इरानले पेनाल्टीमा गोल गर्ने मौका गुमाएको थियो । नेपालका अभिषेक लिम्बूले विपक्षी खेलाडीलाई डि-बक्स एरियामा लडाएपछि इरानले पेनाल्टी पाएको थियो । तर उक्त पेनाल्टीमा इरानका कप्तान चुके ।

दोस्रो हाफमा भने इरान हाबी भयो । दोस्रो हाफको दोस्रो मिनेटमै इरानले गोल गर्दै खेलमा अग्रता लिएको थियो । ७७ औं मिनेटमा इरानले खेलमा अग्रता दोब्बर बनायो । लगत्तै २ मिनेटपछि खेलको तेस्रो गोल गर्दै इरान खेलमा ३-० गोलले अगाडि बढ्यो । यस्तै खेलको अन्तिम मिनेटमा इरानले चौथो गोल गर्दै नेपाललाई ४-० गोलले पाखा लगायो ।

जितसँगै इरानले ३ अङ्क जोडेको छ । अब नेपालले दोस्रो खेल अक्टोबर २८ मा आयोजक ताजिकिस्तानसँग खेल्नेछ भने अक्टोबर ३१ मा लेबानोनसँग खेल्दै छनोटको अन्त्य गर्नेछ ।

छनोटमा कुल ११ समूह रहेका छन् । हरेक समूहको शिर्ष स्थानमा रहने टोली सिधै एसिया कपको लागि छनोट हुनेछन् । यस्तै दोस्रो स्थानमा रहने उत्कृष्ट ४ टोलीलेपनि एसिया कपमा स्थान बनाउनेछ्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *