इन्टर र मिलानको बराबरी, पीएसजीपनि रोकियो

एजेन्सी । इटालियन लिग सिरि ए मा साविक विजेता इन्टर मिलान र युभेन्टसले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा इन्टर मिलान र युभेन्टसले १-१ गोलको बराबरी खेलेका हुन् ।

इन्टरको लागि इडेन डिजेको र युभेन्टसको लागि पाउलो डिबालाले एक/एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर बराबरीमा रोकिन बाध्य भयो । खेलको १७ औं मिनेटमा डिजेकोले गोल गर्दै इन्टरलाई खेलमा अगाडि बढाएका थिए ।

८७ औं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । इन्टरका डुम्फ्रेइसले एलेक्स सान्ड्रोलाई फावल गरेपछि पाएको पेनाल्टीमा डिबालाले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याए । रेफ्रीको उक्त निर्णयबाट असन्तुष्ट देखिएका इन्टरका मुख्य प्रशिक्षक सिमोन इन्जाघीले आक्रोशित हुँदै मैदानमा समान फालेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो । बराबरीसँगै दुवै टोलीले १/१ अङ्क बाढे । यससँगै इन्टर मिलान ९ खेलबाट १८ अङ्क जोड्दै तेस्रो स्थानमा रहँदा युभेन्टस समान खेलबाट १५ अङ्क जोड्दै छैटौं स्थानमा छ ।

यस्तै हिजै राति फ्रेन्च लिग अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी) र मार्सेलेले बराबरी खेलेका छन् । ओरेन्ज भेलोड्रोमेमा भएको खेलमा मार्सेले र पीएसजीले गोलरहित बराबरी खेल्दै अङ्क बाढेका हुन् ।

खेलको १४ औं मिनेटमा लुआन पेरेसले गोल गरेपनि भिएआरले अफसाइड घोषित गर्दा गोलले मान्यता पाएन । २० औं मिनेटमा अर्काडिउज मिल्कले गोल गरेपनि भिएआरले अफसाइड घोषित गरेको थियो । खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन नक्सदा बराबरीमा चित्त बुझाए ।

बराबरीका बाबजुत पीएसजी ११ खेलबाट २८ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत रहेको छ । मार्सेले १० खेलबाट १८ अङ्कको साथ चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *