प्रचण्ड र माधव नेपाललाई चुनाव जितेर देखाउन ओलीको चुनौति

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दाबी गरेका छन् ।

आइतबार एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले जिताइदिएको सांसद संख्या गनेर प्रचण्ड, माधवले संसदमा फुर्ति गरेको भन्दै उनहिरुले आगामी निर्वाचनमा नजित्ने दाबी गरेका हुन् ।

माधव नेपाल चुनाव नउठ्ने र समानुपातिकमा बस्ने जिकिर गर्दै अध्यक्ष ओलीले समानुपातिकमा पनि नेपालको मत नआउने बताए । उनले दुवै नेतालाई आगामी चुनाव जितेर देखाउन चुनौति दिए । अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनलाई विध्वंशकारी, विनाशकारी र अस्थिरता ल्याउने तत्वको संज्ञा दिदैँ गठबन्धनलाई कसैले मत नहाल्ने बताए ।

उनले भने, ‘जुँगा त आफ्नो पो ताउ लाउनुपर्छ । अर्काले टाँसिदिया जुँगा । हामीले टाँसिदिएका, सांसदमा जुन फुर्तिफार्ति गर्दैछन् यतिजना भनेर होलान् २० जना, २२ जना होलान् । त्यो हामीले टाँसिदिएको हो । प्रचण्डको फुर्ति हामीले जगाइदिएको हो । प्रचण्डले अब जितेर देखाउन् त ? तपाईँहरुलाई बताइदिन्छु म माधव नेपाल चुनाव लड्दैनन् । समानुपातिकमा बस्छन् । आउला र खाउँला भनेर, त्यो हुनेवाला छैन ।’

अध्यक्ष ओलीले अरु नेताहरुलाई एमालेमा फर्किन आग्रह गर्दै माधव नेपाललाई भने एमालेले नलिने बताए । माधव नेपाल देशी, विदेशी प्रतिक्रियावादीहरुको सेवामा र उनीहरुसँग साँठगाँठ गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न हिँडेको उनले आरोप लगाए । उनले सबै वामपन्थी, कम्युनिष्ट, लोकतान्त्रिक तथा प्रजातन्त्रवादीहरुलाई एमालेमा समाहित हुन आव्हान पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *