काठमाडौं । नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाभन्दा पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन् । नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा नमागेको र दिने नै हो भने परमादेश दिने प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशले राजीनामा दिनुपर्ने उनको माग छ ।
कोषाध्यक्ष पोखरेलले भने, “हामीले त प्रधानन्यायाधीशभन्दा पनि प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ । भाग माग्ने प्रधानन्यायाधीश हो भने पनि दिने त प्रधानमन्त्री हुन् । मन्त्रीमण्डल बनाउने प्रधानमन्त्रीले नै हो । यसबारेमा गठबन्धनका अनैतिक नेताहरुको साविती बयान आउनुपर्छ । अब प्रधानन्यायाधीशको मात्र राजीनामाले मात्र पुग्दैन, परमादेश दिने प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशले राजीनामा दिनुपर्छ ।”
प्रधानन्यायाधीशको राजीनामाले समस्या समाधान गर्न नसक्ने उनले दाबी गरे । उनले थपे, “प्रधानन्यायाधीशलाई बँचाउनैपर्छ भन्ने पनि होइन, तर हामीले उहाँको राजीनामा मागेका छैनौं । पूर्वन्यायाधीश फोरमले कुण्ठावश र ककसलाई नियुक्ति, बढुवाका लागि राजीनामा आएको होला । बारले बिलकुल राजीनामा मागेको छैन । किन राजीनामा माग्ने ?”
प्रधानन्यायाधीश राणाले राजीनामा दिएपछि आउने वरिष्ठ न्यायाधीश दीपक कार्की झन् अयोग्य भएको उनको आरोप छ ।