स्कुलमै पढ्न पाएपछि रमाए विद्यार्थी

काठमाडौँ । कोभिड–१९ जोखिमका कारण बन्द रहेका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् भने विद्यार्थी पनि लामो समयपछि विद्यालय आउन पाउँदा रमाएका छन् । बाफलस्थित ज्ञानोदय माविमा कक्षा ११ मा पढ्दै गरेका सिभिल इन्जिनियरिङतर्फका विद्यार्थीले विद्यालयमा ल्यापटपमै प्राक्टिकल गरी अध्ययन गर्न पाउँदा सिकेको विषय राम्ररी बुझेको अनुभव गरे ।

‘अनलाइनबाट गणित अध्ययन गर्दा मैले प्राक्टिकल गर्न पाएको थिइनँ । विषयवस्तु बुझ्नै समस्या थियो,’ कक्षा ११ की सुदीपा चौलागाईंले भनिन्, ‘आज विद्यालयमै आएर ल्याबमा बसेर साथीहरूसँग ल्यापटपमा एक्सेलमा प्राक्टिकल गरें । विषयवस्तु पनि राम्ररी बुझें ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालयमा उपस्थित भएर अध्ययन गर्न पाउँदा निकै रमाइलो भएको उनले बताइन् ।

यस स्कुलका शिक्षकले विद्यार्थीको सिकाइलाई थप उपलब्धिमूलक बनाउन गृहकार्य दिएका छन् । ‘अनलाइन कक्षामा बीचैमा छुटेका पाठ पनि सर मिसहरूले प्रत्यक्ष बुझाइ दिनुभयो,’ कक्षा ११ कै छात्रा सम्झना कँडेलले भनिन्, ‘सरले गुगलमा सर्च गरेर गृहकार्य गर्न दिनुभएको छ। यसले हाम्रो पढ्ने र अध्ययन गर्ने बानीलाई नियमित गर्छ ।’

ज्ञानोदयका प्रधानाध्यापक नातिकाजी महर्जनले विद्यालयमा साना नानीहरूलाई विशेष ख्याल गर्ने व्यवस्था गरेको बताए । ‘बालबालिका नै रोगको वाहक भएकाले सुरक्षित बन्न मैले विद्यालयमा विद्यार्थीलाई विशेष गरी मास्क नसाटुन् भन्ने रेखदेख गर्न कक्षा शिक्षकहरूलाई सचेत गराएको छु,’ प्रअ महर्जनले भने, ‘धेरै दिनपछि विद्यालय खोल्न पाउँदा विद्यार्थी र शिक्षक दुवै दंग परेका छन् ।’ उनले थपे, ‘हामीले विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरूपमा पालना गरेका छौं ।’

कालिमाटीमा रहेको जनप्रभात माविका प्रअ सतेन्द्र यादवका अनुसार स्कुलमा विद्यार्थीको सहभागिता उत्साहजनक छ । उनले स्कुलमा स्वास्थ्य सुरक्षाको ख्याल गर्न इन्चार्ज प्रणाली लागू गरेका छन् । ‘स्कुल नियमित चलाउन मैले तहगत रूपमै इन्चार्ज तोकिदिएको छु,’ प्रअ यादवले भने, ‘इन्चार्जले नै आआफ्नो तहका बालबालिकाको कक्षा, मास्क तथा सेनिटाइजर व्यवस्थापन गर्नुहुन्छ ।’ उनले थपे, ‘साना केटाकेटीले मास्क नसाटून् भनेर विशेष ख्याल गरेका छौं ।’

भीमसेनस्थानमा रहेको परोपकार माविका सहप्रधानाध्यापक खिलकुमार प्रधानका अनुसार बालबालिकालाई सुरक्षित बनाउन स्कुलमै मास्कको व्यवस्था गरिएको छ । उनले क्यान्टिनमा समूहमा खाजा खाँदा रोग सर्ने डरले घरबाटै अनिवार्य खाजा ल्याउनुपर्ने व्यवस्था गरेको बताए। ‘बालबालिका रमाएर स्कुल आएका छन् । आमाबुवा पनि नानी स्कुल पठाएर काममा फर्कन पाउँदा खुसी हुनुभएको छ,’ प्रधानले भने, ‘अब विद्यालय नियमित खुल्छ । विद्यालयमा हात धुन साबुनपानीको व्यवस्था छ। ज्वरो नाप्ने व्यवस्था पनि छ ।’ यो समाचार नागरिक दैनिकमा रुवी रौनियारले लेखेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *