म्यानचेस्टर युनाइटेडको शानदार पुनरागमन जित

एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युईएफए च्याम्पियन्स लिगमा शानदार पुनारगमन जित निकालेको छ । घरेलु मैदानमा भएको रोमाञ्चक खेलको पहिलो हाफमा दुई गोलले पछि परेको स्थितिलाई उल्टाउदै युनाइटेडले इटालियन क्लब एटलान्टालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोर्ड, ह्यारी मगायर र क्रिस्टियानो रोनाल्डोले समान एक/एक गोल गरे । एटलान्टाको लागि मारियो पासालिक र मेरी डेमिरालले एक/एक गोल गरे । पहिलो हाफमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा एटलान्टा हार बेहोर्न बाध्य भयो । खेलको १५ औं मिनेटमा जापाकोस्टाको पासमा पासालिकले गोल गर्दै एटलान्टालाई खेलमा अगाडि बढाएका थिए ।

२९ औं मिनेटमा कोप्मेइनेर्सको पासमा डेमिरालले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा भने युनाइटेड हाबी भयो । ५३ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई २-१ गोलको स्थितिमा ल्याए । ७५ औं मिनेटमा फर्नान्डेजकै पासमा मगायरले गोल गर्दै युनाइटेड २-२ गोलको बराबरीमा ल्याएका थिए ।

यस्तै ८१ औं मिनेटमा लुक शहको क्रसमा रोनाल्डोले हेडिङ गोल गर्दै युनाइटेडलाई ३-२ गोलको शानदार पुनरागमन जित दिलाए । जितसँगै युनाइटेड ३ खेलबाट ६ अङ्क जोड्दै समूह ‘एफ’को शिर्ष स्थानमा उक्लिएको छ । पराजित एटलान्टा ३ खेलबाट ४ अङ्कको साथ दोस्रो स्थानमा झरेको छ ।

यस्तै समूहको अर्को खेलमा भिल्लारियलले योङ ब्वाइजलाई ४-१ गोलले पराजित गर्यो । भिल्लारियललाई जित दिलाउन येरेमी पिनो, जेरार्ड मोरेनो, अल्ब्रेटो मोरेनो र समुएल चुक्वुएजेले एक/एक गोल गरे । योङ ब्वाइजको तर्फबाट मेस्चाक इलिएले एक गोल फर्काए । जितसँगै भिल्लारियल ३ खेलबाट ४ अङ्कको साथ तेस्रो स्थानमा छ । समान खेलबाट ३ अङ्क जोडेको योङ ब्वाइज समूहको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *