काठमाडौँ । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभमार्फत इच्छाराज तामाङसहितको टोलीले गरेको ठगी रकम ४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । असोज मसान्त अर्थात् आइतबारसम्म सहकारीका पूर्वअध्यक्षसमेत रहेका तामाङसहितको टोलीले निक्षेपकर्ताको रू ४ अर्ब ७ करोड १ लाख १ हजार ४४४ रुपैयाँ ठगी गरेको आरोप लागेको हो ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा शुक्रवारसम्म ९९१ जना पीडितले जाहेरी दिएका छन् । उक्त जाहेरीको आधारमा बिगो रकम ४ अर्बभन्दा माथि पुगेको सीआईबी प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । सम्भवतः यो सहकारी क्षेत्रमा भएको सबैभन्दा ठूलो गठी प्रकरण हुन सक्ने उनको भनाइ छ ।
‘अझै पनि केही पीडितहरू जाहेरी दिने तयारीमा छन् । करीब १ हजार जनाले लिखित जाहेरी दिएका छन् । हामीले गरेको प्रारम्भिक अध्ययनअनुसार सम्भवतः सहकारी क्षेत्रमा यो स्तरको ठगी प्रकरण यसभन्दा पहिला भएको देखिँदैन,’ उनले भने, ‘तसर्थ, सहकारी क्षेत्रमा भएको यो सबैभन्दा ठूलो प्रकरण हो जस्तो लाग्छ ।’
सीआईबीले ७७ जना पीडित निक्षेपकर्ताको जाहेरीको आधारमा गत असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । साथै, असोज १९ गते थप ११ जनालाई पक्राउ गरेको थियो ।
उनीहरूलाई पक्राउ गरेपछि अन्य पीडित निक्षेपकर्ताहरू पनि जाहेरी दिँदै आएका छन् । सीआईबीले असोज १९ गते उक्त आरोपीहरूलाई सार्वजनिक गर्दा बिगो रकम ७० करोड रुपैयाँको हारहारीमा थियो । तर, हालसम्म आउँदा बिगो रकम ४ अर्बभन्दा बढी पुगेको छ ।
निक्षेपकर्ताहरूको उजुरीको आधारमा सीईआईबीले पक्राउ गरेका तामाङ पूर्वसभासद् पनि हुन् । साथै, उनी सिभिल बैंकका बहालवाला अध्यक्ष पनि रहेकाे समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।
