USAID

टी-२० विश्वकपमा ओमानको विजयी शुरुवात, पीएनजी १० विकेटले पराजित


एजेन्सी । आईसीसी टी-२० विश्वकपमा आयोजक ओमानले विजयी शुरुवात गरेको छ । आइतबार दिउँसो भएको उद्घाटन खेलमा पवुवा न्युगिनीलाई १० विकेटले पराजित गर्दै घरेलु टोली ओमानमा प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो ।

जितको लागि १ सय ३० रनको लक्ष्य पछ्याएको ओमानले १३.४ ओभरमै कुनै विकेट नगुमाई १ सय ३१ रन बनाउँदै लक्ष्य भेट्टायो । ओमानको लागि ओपनरद्वय जतिन्दर सिंह र अकिब इल्यासले अर्धसतक पूरा गरे । जतिन्दरले ४२ बलमा ७ चौका र ४ छक्कासहित ७३ रन बनाउँदा इल्यसले ४३ बलमा ५० रन जोडे । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

यसअघि अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएजीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । रनको खाता नखोल्दै दुई विकेट गुमाएको पिएजीको इनिङ्स असाद भाला र चार्लेस अमिनीले उकासेका थिए । भाला र अमिनीले तेस्रो विकेटको लागि ८१ रनको साझेदारी गरे । कप्तान भालाले ४३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए । अमिनीले २६ बलमा ४ चौका र १ छक्कासहित ३७ रन जोडे । यस्तै सेसे बाउले १३ बलमा २ चौकासहित १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

ओमानको लागि जेशान माक्सोदले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिए । बिलम खानले ४ ओभरमा १ मेडन राख्दै १६ रन दिएर २ विकेट लिँदा कालेमुल्लाहले ३ ओभरमा १९ रन दिएर २ विकेट लिए ।

जितसँगै ओमान २ अङ्क जोड्दै समूह ‘बी’को शिर्ष स्थानमा रहेको छ । आजै हुने समूहको दोस्रो खेलमा स्कटल्याण्ड र बंगलादेश भिड्दैछन् । पहिलो चरणमा दुई समूह रहेका छन् । समूह ‘ए’ मा आयरल्यान्ड, नामिबिया, श्रीलंका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’मा ओमान, स्कटल्यान्ड, बंगलादेश र पपुवा न्युगिनी रहेका छन् । दुवै समूहको शिर्ष दुई/दुई टोलीले सुपर १२ मा प्रवेश पाउनेछन् ।

सुपर १२ को समूह ‘एक’मा इङ्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् भने समूह ‘दुई’मा अफ्गानिस्थान, पाकिस्तान, भारत र न्युजिल्यान्ड रहेका छन् । पहिलो चरणबाट आएका चार टोली मध्य दुई/दुई टोली समूह एक र दुई मा जोडिनेछन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *