भारतविरुद्ध नेपालको शुरुवाती ११ घोषणा

काठमाडौं । साफ च्याम्पियनसिप फूटबल अन्तर्गत भारतविरुद्ध केहि समयमा शुरु हुने फाइनल खेलको लागि नेपालको शुरुवाती ११ घोषणा भएको छ । २८ वर्षपछि पहिलो पटक फाइनल खेल्न लागेको नेपालको कप्तानीको जिम्मेवारी गोलकिपर किरण चेम्जोङले समाल्नेछ ।

बंगलादेशविरुद्धको खेलमा शुरुवात गरेका खेलाडीबाट अल्मुताइरीले तीन खेलाडी परिवर्तन गरेका छ्न् । उक्त खेलमा शुरुवात गरेका विशाल राई, आयुष घलान र अन्जन विष्टको स्थानमा सुमन अर्याल, पुजन उपरकोटी र सुमन लामाले शुरुवाती ११ मा स्थान बनाएका छन् । अन्जन विष्ट दुई पहेँलो कार्ड पाएको कारण आजको खेल खेल्न नपाउने भएका हुन् भने मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि स्ट्यान्डबाट खेल नियाल्नेछन् ।

नेपालको शुरुवाती ११: किरण चेम्जोङ(गोलकिपर, कप्तान); गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल; तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी; सुमन लामा, नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ

बुधबार भएको लिग चरणको खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालले एक इतिहास त बनाइसकेको छ । तर आज हुने खेल जित्दै नेपाललाई अर्को महत्त्वपूर्ण इतिहास कोर्ने सुनौलो अवसर रहेको छ । जसको लागि नेपालले चिरप्रतिद्वन्दी भारतको चुनौतीलाई पन्छाउनु पर्नेछ ।

नेपालको लागि भारत कुनै नौलो र सहज टोलीपनि हैन । छिमेकी राष्ट्रविरुद्ध नेपालले लगभग दुई दर्जन खेल खेलिसकेको छ भने जवाफमा मात्र २ खेल आफ्नो पोल्टामा पार्न सकेको छ । नेपालले भारतविरुद्धको पछिल्लो ८ खेलमा जित निकाल्न सकेको छैन । लिग चरणको खेलमापनि नेपाल भारतसँग १-० गोलले पराजित भएको थियो । त्यसैले नेपाल आजको खेलमा भारतविरुद्धको जितविहिन यात्रालाई पूर्णविराम लगाउँदै पहिलोपटक साफको उपाधि चुम्न चाहन्छ ।

माल्दिभ्समा जारी साफमा नेपालले उत्कृष्ट शुरुवात गरेको थियो । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई हराउँदै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलले पराजित गरेको थियो । यस्तै तेस्रो खेलमा भारतसँग १-० गोलले पराजित भएको नेपाल लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो ।

यता सात पटकको च्याम्पियन भारतको भने कथा फरक छ । प्रतियोगिताको शुरुवाती दुई खेलमा बंगलादेशसँग १-१ र श्रीलंकासँग गोलरहित बराबरी रोकिएसँगै भारतको फाइनल प्रवेश चुनौतीपूर्ण बनेको थियो । तर तेस्रो खेलमा नेपाललाई १-० गोलले हराएको भारतले अन्तिम खेलमा माल्दिभ्समाथि ३-१ गोलको शानदार जित निकाल्दै शिर्ष स्थानमा रहँदै फाइनलको टिकट काटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *