माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । सर्वाधिक सातपटकको च्याम्पियन भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको लिग चरणको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोलले हराउँदै भारतले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतलाई जित दिलाउन सुनिल क्षेत्रीले दुई गोल गर्दा मानभिर सिंहले एक गोल थपे । माल्दिभ्सको लागि अलि अस्फाकले एक गोल फर्काए । खेलको ३३ औं मिनेटमा मानभिर सिंहले गोल गर्दै भारतलाई खेलमा अगाडि बढाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अलि अश्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई बराबरीमा ल्याएका थिए ।

६२ औं मिनेटमा मानभिरले चेस्ट कन्ट्रोल गर्दै दिएको पासमा सुनिलले गोल गर्दै भारतलाई २-१ गोलको अग्रता दिलाए । ७१ औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा भारत ३-१ गोलले विजयी भएको हो ।

जितसँगै भारत ४ खेलबाट ८ अङ्क जोड्दै शिर्ष स्थानमा रहेर फाइनल पुगेको छ । पराजित माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै हिजै भएको पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल साफ इतिहासकै पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *