यस्ता छन् नवनियुक्त मन्त्रीका प्रतिवद्धता

काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शुक्रबारै पदभार ग्रहण गरेका छन् । पदभारपछि उनीहरुले देश र जनताका पक्षमा काम गर्ने भन्दै विभिन्न प्रतिवद्धता जनाएका छन् ।
मुलुकमा सबल सुरक्षा नीति आवश्यक : मन्त्री डा रिजाल
नवनियुक्त रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले मुलुकका लागि सबल सुरक्षा नीति आवश्यक भएको बताएका छन् । राष्ट्रिय सुरक्षा कुनै एक दलको मात्रै नभइ सबैको साझा विषय भएकाले त्यसलाई सबै मिलेर एकताबद्ध रुपमा अघि बढाउनुपर्नेमा उनको जोड थियो । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै रक्षामन्त्री डा रिजालले भने, “अहिले परराष्ट्रसम्बन्धको विषयमा जुन कुरा उठिरहेको छ त्यसले पनि सबल सुरक्षा नीति आवश्यक रहेको देखिएको छ, त्यसमा मेरो ध्यान जान्छ ।”

राष्ट्रपति विद्यादेवी भण्डारी रक्षामन्त्री हुँदा नै मन्त्रीस्तरीय समितिले राष्ट्रिय सुरक्षा नीति अघि बढाएको सन्दर्भ जोड्दै मन्त्री रिजालले त्यसलाई पछि आएर विभिन्न चरणमा अघि बढाउने काम भइरहेको उल्लेख गरे । मन्त्री रिजालले नेपालको सुरक्षा संवेदनशिलता र मित्रराष्ट्रसँगको सम्बन्ध पहिलेभन्दा बढी अवसरको रुपमा विकास भइरहेको र त्यससँगै चुनौती पनि बढ्दै गएको सन्दर्भमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने विश्वास दिलाए ।

उनले नेपालबाट शान्ति मिसनमा ठूलो सङ्ख्यामा सेना जाने गरिएको र त्यहाँ नेपालको भूमिकालाई अझ विस्तारित गर्ने विषयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए । मन्त्री रिजाल यसअघि संस्कृति र सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका थिए । सुनसरीमा जन्मिएका उनी मोरङ क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उनी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै राजनीतिमा आएका हुन् । उनले संविधान मस्यौदा समितिको सदस्य बनेर जिम्मेवारी निर्वाह गरे । हाल उनी संसद्को सार्वजनिक लेखा समितिका सदस्य पनि हुन् । उनले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।

तराईको मरुभूमिकरण रोक्न चुरेको संरक्षण अपरिहार्यः वनमन्त्री यादव
वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले तराईको मरुभूमिकरण रोक्न चुरे क्षेत्रको संरक्षण अपरिहार्य भएको बताएका छन् । मन्त्रालयको शुक्रबार जिम्मेवारी सम्हालेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले तराई मधेश अन्नको भण्डार भएकाले यसको दिगो संरक्षणका लागि चुरेको संरक्षण आवश्यक रहेकामा जोड दिए ।

वन मन्त्रालय जनताको जीवनसँग जोडिएको महत्वपूर्ण मन्त्रालय भएको बताउँदै मन्त्री यादवले सरकारको साझा न्यूनतम कार्यक्रमअनुसार मन्त्रालयका नीति तथा योजना अघि बढाउने धारणा व्यक्त गरे । सोही कार्यक्रमअनुसार चुरे क्षेत्र उत्खनन गरी ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने कार्य रोक्ने उनको भनाइ थियो ।

जैविक विविधताविरुद्ध भइरहेका अनावश्यक गतिविधि नियन्त्रण गर्न सरोकारवाला सबै निकाय सक्रियरूपमा लाग्नुपर्नेमा जोड दिँदै उनले जलवायुका क्षेत्रमा भइरहेका परिवर्तनले हुने क्षति रोक्न नेपालले अन्तर्राष्ट्रियस्तरमा सशक्तरूपमा कुरा उठाउनुपर्ने बताए ।

उनले वन तथा वतावरणका क्षेत्रमा नकारात्मक प्रभाव पार्ने गतिविधि नियन्त्रण गर्न मन्त्रालयले महत्वपूर्ण भूमिका खेल्ने र यसका लागि कर्मचारीलाई थप प्रयत्न गर्न आग्रह गरे । साथै उनले मन्त्रालयका चुनौती र समस्याको समाधानका लागि आफूले आवश्यक नीति निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेलले मन्त्रीको कार्यकाल सफल बनाउन कुनै कसर बाँकी नराख्ने बताउँदै विज्ञ कर्मचारी परिचालनका लागि नेतृत्वको प्रभावकारी भूमिकाको अपेक्षासमेत गरे ।

कोभिड नियन्त्रणका लागि ध्यान केन्द्रित गर्छुः स्वास्थ्यमन्त्री खतिवडा
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्री खतिवडाले शुक्रबारै रामशाहपथस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका हुन् ।

मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउने वातावरण उपलब्ध गराउने बताए । “सकेसम्म धेरै जनताले सेवा सुविधा सहज ढङ्गले प्राप्त गराउने उद्देश्यका साथ मेहनत र इमान्दारीका साथ काम गर्ने छु”, उनले भने । उनले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न आफू केन्द्रित हुने बताए ।

मन्त्री खतिवडालाई स्वास्थ्यसचिव डा रोशन पोखरेल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले स्वागत गरेका थिए ।

विसं २०१५ फागुन १० गते मकवानपुरको गढी गाविस (हाल हेटौँडा–१७, हटिया, राजदेवी) मा जन्मिएका खतिवडा मकवानपुरबाट २०४८ सालदेखि नै संसदीय निर्वाचनमा निर्वाचिन हुँदै आएका छन् । उनी २०४८ साल, २०५१ सालको मध्यावधि र २०५६ सालको संसदीय निर्वाचनमा निर्वाचित भएका हुन् । पछिल्लो पटक उनी मकवानपुर क्षेत्र नं २ बाट २०७४ सालको संसदीय निर्वाचनमा निर्वाचित भएका हुन् ।

भुटनदेवी माविबाट २०३३ सालमा एलएलसी उत्तीर्ण गरेका उनले नेपाल ल क्याम्पसबाट कानून सङ्कायमा स्नातक उत्तीर्ण गरेका छन् । भुटनदेवी माविबाट २०२८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय उनी २०३५/०३६ सालमा मकवानपुर जिल्लाको पार्टी जिल्ला कमिटीमा रहेका थिए ।

विसं २०४० सालअघिसम्म भूमिगत राजनीतिमा सक्रिय उनी २०४३ सालमा मकवानपुरबाट राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा जनपक्षीय उम्मेदवार बनेका थिए । हाल नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य रहेका उनले तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा रही भूमिका निर्वाह गरिसकेका छन् ।
कानूनमन्त्री बडुद्वारा पदभार ग्रहण
नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सिंहदबारस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शपथ ग्रहपछि उनले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै विशेष परिस्थितिमा बनेको सरकार भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे ।

“यो सरकार विशेष समयमा बनेको हो, यसका निश्चित कार्यभार छन्”, मन्त्री बडुले भने, “मलाई पूर्णरूपमा सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु ।” मन्त्रालयका सचिव उदयराज सापकोटाले कानून बमोजिम गर्न मिल्ने काममा सबै कर्मचारीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बडु विसं २०६४ मा सञ्चार राज्यमन्त्री बनेका थिए । उनले नेपाली कांग्रेसकोे प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

शैक्षिक सुधारको क्रमलाई निरन्तरता दिनेछुः शिक्षामन्त्री
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राज्य प्रणालीको अवधारणलाई सफल तुल्याउन आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादनमा नीतिगत सुधारका लागि प्राथमकिता दिने बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री पौडेलले शिक्षामा भइरहेको सुधारलाई निरन्तरता दिँदै अरोरात्र खटेर आमूल परिवर्तन गर्ने जनाए । मन्त्री पौडेलले सोहीबमोजिम कार्य गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री पौडेलले भने, “सरकारले पढ्दै, कमाउँदै भन्ने कार्यक्रम पनि ल्याएको छ ।

शिक्षालाई देश र जनताको हितमा उपयोग गर्न दातृ निकायसँगको समेत सहयोग लिएर रोजगारमूलक बनाउन नीतिगत पहल गर्न आवश्यक छ । त्यसमा म र मन्त्रालयका तर्फबाट काम हुनेछ । सङ्घीय शिक्षा निर्माण लगायत विद्यमान आवश्यकता र समस्याका लागि मेरो ध्यान जानेछ ।” मन्त्री पौडेललाई मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायत उच्च कर्मचारीले स्वगत गरेका थिए । मन्त्री पौडेलसँगै नवनियुक्त राज्यमन्त्री बोधमायाकुमारी यादवले पनि आज मन्त्रालयमा बहाली गरिन् ।

पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी काम गर्छु : पर्यटनमन्त्री
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने बताएका छन् ।

सिंहदरबारमा पदबहाली गर्दै मन्त्री आलेले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको सम्पदा र संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा जुट्ने बताए । पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो रुपमा उत्रनुपर्ने खाँचो औँल्याए ।

मन्त्रालयअन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषलगायतलाई प्रभावकारी बनाइने तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई सुदृढ गरिने उनको भनाइ छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिइनुका साथै आन्तरिक र अन्तरराष्ट्रिय विमानस्थललाई सुदृढ र प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री आलेले विश्वास व्यक्त गरे ।

पर्यटनमन्त्री आलेले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको यथाशीघ्र सञ्चालन गर्ने प्रतिवद्धता जनाए । उनले धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न आवश्यक प्रक्रिया अघि बढाइने पनि जानकारी दिए ।

पर्यटनमन्त्री आलेले नेपाल वायुसेवा निगमलाई सबल र प्रभावकारी बनाउने भन्दै यसको सेवालाई जनमुखी बनाउन पहल गरिने बताए । आले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नव नियुक्त पर्यटनमन्त्री आले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को नेता हुन् । उनी गत निर्वाचनमा डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालय र अन्तर्गतका निकायको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्रीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रेस स्वतन्त्रताका पक्षमा सरकार प्रतिबद्ध छ– सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री कार्कीले मन्त्रालयको वार्षिक प्रगति समीक्षा प्रकाशन गर्ने निणर्य डिजिटल हस्ताक्षरमार्फत सदर गरे ।

सो अवसरमा उनले स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्ने बताउँदै वर्तमान सरकारले प्रेस स्वतन्त्रताको उच्च सम्मान गर्ने र सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरे । मन्त्री कार्कीले पत्रकारिता क्षेत्रको विकासलाई प्रोत्साहन गर्दै सरकारले जनताको चाहनाअनुसार काम गर्ने बताए ।

उनले भने, “सरकारी काम कारवाहीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधिको उच्चतम प्रयोग अपरिहार्य छ, प्रजातन्त्रमा नागरिक सर्वोच्चता पहिलो शर्त हो, नागरिकलाई सेवा प्रदान गर्ने जिम्मेवारी सरकारको हो, सरकारले बाटो बिराउन सक्छ, त्यस्तो अवस्थामा प्रेस जगत्को आफ्नै किसिमको भूमिका हुन्छ, त्यसका निम्ति सरकारले प्रोत्साहित गर्नेछ ।”

मन्त्री कार्कीले जनताको सर्वोच्चता स्थापित गर्ने र सूचनालाई सबैको हकका रुपमा स्थापित गर्ने जनाउँदै सञ्चार मन्त्रालयलाई केबल दैनिक काम गर्ने मन्त्रालयका रूपमा नभएर अहिलेको समयको चुनौतीलाई अवसरको रूपमा परिणत गर्ने मन्त्रालयका रूपमा परिवर्तन गर्ने बताए ।

सो अवसरमा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले मन्त्रीसमक्ष मन्त्रालयको काम र जिम्मेबारीबारे जानकारी गराएका थिए ।

नेपाली कांग्रेसको तर्फबाट सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री कार्की यसअघि कानून, न्याय तथा संसदीय मामिला थिए । अर्थमन्त्रीसमेत भइसकेका मन्त्री कार्की निर्वाचन सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद हुन् । उनी विसं २०३९ सालमा पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को अध्यक्षसमेत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *