ईपीएल फाइनल: उपाधिको लागि चितवन र पोखरा भिड्दै

काठमाडौं । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग(ईपीएल)को फाइनल खेलमा आज चितवन टाइगर्स र पोखरा राइनोज भिड्दै छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १२:१५ बजे शुरु हुनेछ ।

दुवै टोली आज हुने खेल जित्दै उपाधि उचाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । दुवै टोली पहिलो पटक फाइनल खेल्न लागेका हुन् । चितवनले पहिलो क्वालिफायर्समा चितवनलाईनै ९ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । लिग चरणको मात्र एक खेलमा हार चाखेको चितवन अङ्कतालिकाको शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । पोखरा विरुद्धको पछिल्लो ३ खेलमा जित निकालेको चितवन आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

यता पोखरा भने आजको खेलमा चितवनमाथि बदला लिँदै उपाधि उचाल्ने दाउमा रहेको छ । पोखरा पहिलो क्वालिफायर्समा चितवनसँग ९ विकेटले पराजित भएको थियो भने लिग चरणको खेलमापनि चितवनले समान ९ विकेटको जित निकालेको थियो । तर दोस्रो क्वालिफायर्समा उपाधिको बलियो दाबेदार मानिएको भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले हराएको पोखरा उच्च मनोबलमा रहेको छ । लिग चरणको ५ खेलबाट ७ अङ्क जोड्दै पोखरा दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *