रोनाल्डोले जिते ‘प्रिमियर लिग प्लेयर अफ दी मन्थ’को अवार्ड

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सप्टेम्बर महिनाको ‘प्रिमियर लिग प्लेयर अफ दी मन्थ’को अवार्ड जितेका छन् । शुक्रबार लिगले सामाजिक सञ्जालमार्फत रोनाल्डो अन्य पाँच खेलाडीलाई पछि पार्दै सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी चुनिएको जनाएको हो ।

यससँगै उनले आफ्नो करियरममा पाँचौ पटक ‘प्रिमियर लिग प्लेयर अफ दी मन्थ’को अवार्ड जितेका छन् । यसै सिजन इंग्ल्याण्ड फर्किएका रोनाल्डोले सेप्टेम्बर महिनामा म्यानचेस्टर युनाइटेडबाट लिगमा ३ खेल खेल्दै ३ गोल गरेका थिए । न्युक्यासलविरुद्धको खेलमा २ गोल गर्दै युनाइटेडमा दोस्रो कार्यकालको उत्कृष्ट शुरुवात गरेका रोनाल्डोले वेस्टहाम विरुद्ध एक गोल गरेका थिए ।

‘प्रिमियर लिग प्लेयर अफ दी मन्थ’को अवार्ड जित्न रोनाल्डोले म्यानचेस्टर सिटीका जोए कान्सेलो, चेल्सीका एन्टोनियो रुडिगर, न्युक्यासलका एलन सेन्ट-म्याक्सिम, वाटफोर्डका इस्माइला सार र लिभरपुलका मोहमद सलाहलाई पछि पारेका हुन् । विजेताको घोषणा प्रिमियर लिगको आधिकारिक वेबसाइटमा समर्थकले गरेको भोट र फूटबल पण्डितहरुको निर्णयबाट भएको हो ।

३६ वर्षीय रोनाल्डोले पहिलो कार्यकालमा चारपटक ‘प्रिमियर लिग प्लेयर अफ दी मन्थ’को अवार्ड जितेका थिए । सन् २००६ नोभेम्बर र डिसेम्बरमा लगातार २ पटक अवार्ड जितेका रोनाल्डो २००८ मा युनाइटेडलाई लगातार दोस्रो पटक लिगको उपाधि दिलाउने क्रममा जनवरी र अप्रिल महिनामा उत्कृष्ट चुनिएका थिए ।

यसअघि रोनाल्डोले सेप्टेम्बर महिनाको ‘युनाइटेड प्लेयर अफ दी मन्थको अवार्ड’पनि जितेका थिए । उनले क्लबबाट ५ खेल खेल्दै ५ गोल गरेका थिए । उनले च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा भिल्लारियल विरुद्ध ९५ औं मिनेटमा गोल गर्दै युनाइटेड जित दिलाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *