सिभिल सहकारी ठगी प्रकरण : सीआईबीको सम्पर्कमा आउँदै पीडितहरू

काठमाडौं । निक्षेपकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङसहितको १२ जनाको टोली पक्राउ परेपछि पीडितहरू सम्पर्कमा आउन थालेका छन् । उनीहरूलाई पक्राउ गरेपछि थप ११३ जना पीडित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सम्पर्कमा आएका छन् ।

सीआईबीले ७७ जना पीडित निक्षेपकर्ताको जाहेरीका आधारमा गत सोमवार र मंगलवार सहकारीका पूर्वअध्यक्ष तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । गत मंगलवार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई ५ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । उनीहरूलाई अहिले हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ । यस क्रममा थप पीडितहरू थपिँदै आएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले बताए ।

‘उनीहरूलाई पक्राउ गरेपछि मंगलवार ६० र बुधवार ५३ जना पीडितहरूले जाहेरी दिइसकेका छन्,’ उनले भने, ‘बिहीवार घटस्थापनाको बिदाका कारण थप पीडितहरू आएका छैनन् ।’ पीडितहरू थपिएसँगै तामाङसहितको टोलीले गरेको ठगी रकम पनि बढेर करीब ८४ करोड पुगेको उनको भनाइ छ ।

मंगलवार १३७ पीडितको जाहेरीका आधारमा उनीहरूमाथि ७० करोड ८७ लाख १३ हजार रुपैयाँ गठी गरेको आरोप लगाइएको थियो । तर, अहिले त्यो बढेर करीब ८४ करोड रुपैयाँ पुगेको छ ।

उनीहरूलाई सहकारी ऐन तथा ठगीसम्बन्धी ऐनमा रहेर मुद्दा अगाडि बढाइएको छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *