देउवालाई बिदा गर्नुको विकल्प छैनः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीकोे भविष्यका लागि शेरबहादुर देउवालाई बिदा गर्नुको विकल्प नभएको बताएका छन् । कांग्रेस लोकतान्त्रिक प्रक्रियाबाटै नेतृत्व परिवर्तन गर्न सक्षम रहेको उनको दाबी छ ।

वरिष्ठ नेता पौडेलले भने, “सभापति देउवाको सचिवालयले पालिकाको नेतृत्वमा सभापति पक्षको बहुमत रहेको भनेर हिजो फेक न्यूज पठायो । मुलुकलाई थाहा छ, ठूला महानगरपालिकाको नेतृत्व हाम्रो पक्षका साथीहरुले जित्नुभएको छ, अधिकांश जिल्ला र क्षेत्रमा हाम्रै साथीहरु नेतृत्वमा आउनुभएको छ ।

महाधिवेशन प्रतिनिधि सर्वत्र हाम्रो पक्षबाटै चुनिएर आएका छन् । के सभापति पक्षले भोलि धाँधली गर्नका लागि आज धेरै मान्छे देखाएको हो ? यहाँ पछि भ्रष्टाचार गर्नका लागि पनि अहिले सम्पत्ति धेरै देखाउने गर्छन् । सभापति पक्ष विपरीत लहरले अत्तालिएर सहज ढंगले महाधिवेशन अघि बढेको छैन ।”

वरिष्ठ नेता पौडेलले देउवालाई सभापतिबाट हटाउन आफ्नो पक्ष दृढ निश्चयी भएको पनि बताए । उनले भने, “देउवाविरुद्ध जानका लागि हामीबीच कुनै विवाद हुन्न । हामी एउटै साझा उम्मेदवारी दिन्छौं । हामी देशलाई निकास दिन सक्ने, स्पष्ट दिशाबोध भएको र कांग्रेसको रुपान्तरण गर्न सक्ने अनि लोकतान्त्रिक र प्रगतिशील नेपाल बनाउने अठोट भएको नेतालाई रोज्छौं । यसमा सबै पुस्ता समावेश हुन्छ । हामी सामूहिक ढंगले चल्छौं । समय आएपछि एउटै उम्मेदवार घोषणा गर्छौं । यसमा ढुक्क भए हुन्छ ।”

आफ्नो पक्षको लडाइँ व्यक्तिभन्दा पनि विधि, पद्धति र अनुशासनमा नबस्ने प्रवृत्ति विरुद्ध रहेको उनले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *