गृहस्थमा बस्नेले बलि दिनैपर्छः गौतम

काठमाडौं। पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको बताएका छन् । अध्यक्ष गौतमले भने, “घटस्थापना भनेको लोकको रक्षा, उन्नति, प्रगति र सुस्वास्थ्यका लागि लागि हो ।

घटस्थापनामा जौ रोप्नुको कारण छ । जगत्जननी दुर्गाको अत्यन्त प्रिय पुष्प हो, जौको जमरा । नौ रात र दस दिनसम्म उपासना हुन्छ र पूजा प्रसाद ग्रहण गरिन्छ । सबैको चाहना जीवनलाई सुखमय, शान्तिमय र आनन्दमय बनाउने हुन्छ । शक्ति, धन सम्पत्ति र विद्याबुद्धि नचाहिने कोही पनि हुन्न । त्यसैले घटनास्थापनादेखि नै महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा हुन्छ ।”

दुर्गा भवानीको उपासनाका लागि मन्त्र जान्नु अनिवार्य नभएको उनले बताए । उनले थपे, “दियो, कलश, गणेश स्थापना गरी जौ रोपेर घटस्थापना हुन्छ । मन्त्र जान्नेले मन्त्र पढ्ने हो, नत्र देवीप्रति श्रद्धा, आस्था र भावना भए पुग्छ ।”

बलिप्रथा स्वैच्छिक भए पनि देवीलाई प्रसन्न बनाउनु नै यसको उद्देश्य रहेको गौतमले बताए । उनले भने, “सज्जनको रक्षाका लागि देवीलाई शक्तिशाली बनाउनुपर्छ । त्यसैले गाउँ सहर जताततै बलि दिने परम्परा छ । निवृत्या मार्गमा लागेकाले बलि चढाउनु परेन । गृहस्थ गरेका मानिसले सात्विक, राजस र तामस पूजा गर्ने परम्परा छ ।

कसैले पशुपक्षीको बलि दिन्छन्, कसैले रक्सी चढाउँछन् । गृहस्थमा बस्नेले बलि दिनैपर्छ । सके प्रत्येक दिन दिनोस् । नसक्नेले सप्तमीदेखि दशमी दिनोस् । त्यो पनि नसके अष्टमीदेखि दशमीसम्म दिनोस् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *