काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफू चौधौं महाधिवेशनमा महामन्त्री पदमा लड्ने बताएका छन् । आफूलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पूर्ण समर्थन रहेको उनको दाबी छ ।
डा. महतले भने, “म महामन्त्रीमै लड्ने हो । त्यसमा केही समस्या छैन । सभापतिज्यूले पनि त्यो कुरा भन्नुभएको छ ।” कांग्रेसको महाधिवशेनका गाडी अगाडि बढिसकेकाले अब रोकिने कुनै सम्भावना नभएका उनले बताए । यस्तो महाधिवेशन कांग्रेसको इतिहासमा कहिल्यै नभएको पनि उनको जिकिर छ । उनले थपे, “१० लाख क्रियाशील सदस्यका बीचमा एक तिहाइ महिला, विभिन्न जातिजाति, किसान, विभिन्न पेसा, व्यवसायका, तरुण, युवा उत्साहका साथ लागेका छन् । यसले नेपाली कांंग्रेसको संगठनलाई नयाँ जीवन दिन्छ । तर हामी प्रोपागन्डा मिसनरी चलाउँदैनौं काम मात्र गर्छौं । तिललाई पहाडका रुपमा प्रचार गर्ने काम कम्युनिस्टहरुको हो ।”
मन्त्रिपरिषद् विस्तारको अन्योल अब हटेको उनले बताए । उनले भने, “आजभोलि जति बेला पनि सरकारले पूर्णता पाउन सक्छ । अब अनिश्चितता सकियो । मन्त्री बनाउने कुरामा कांग्रेसभित्र केही समस्या छैन । कांग्रेसको समस्याले ढिला भएको पनि होइन । सत्ता घटक दलहरुको प्रतिनिधित्व गर्न खोज्दा ढिलाइ भएको मात्र हो ।”
कांग्रेसमा मन्त्री हुनका लागि महत्तवपूर्ण र योग्य साथीहरु रहेको उनले बताए ।
