काठमाडौं। नेकपा (एमाले) का नेता आनन्दप्रसाद पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ब्रान्डिङ गरेर आगामी चुनावमा जाने गरी पार्टीको विधान महाधिवेशनमा त्यसको पूर्वाभ्यास गरेको बताएका छन् । एमालेमा नयाँ नेतृत्व २०८३ को महाधिवेशनमा मात्र सम्भव हुने उनको भनाइ छ ।
नेता पोखरेलले भने, “हामी मार्क्सवाद र लेनिनवादमा विश्वास गर्छौं । त्यसकारण पार्टीमा देवकत्वकरण सम्भवै छैन । तर केपी ओली मुलुकको राजनेता हो । राष्ट्रिय अखण्डताको रक्षक हो । भिजनरी, राष्ट्रवादी र सफल नेता हो । त्यसैले उहाँ पार्टी कार्यकर्ताका निम्ति गौरवको कुरा हो । उहाँको चर्चा र सम्मान हुनु स्वाभाविकै हो । हामी आगामी चुनावमा केपी ओलीको ब्रान्डिङ गरेर जान चाहन्छौं । तर यो केपी ओलीको पूजा होइन । यो त ओलीको व्यक्तित्व सहन नसक्ने र चुच्चे नक्सा निकालेको मन नपराएका विदेशी दलालहरुको टिप्पणी हो ।”
पार्टीको विधानले एउटा व्यक्ति कार्यकारी पदमा दुई पटकभन्दा नजाने र ७० वर्ष उमेरभन्दा माथिकाले कार्यकारी पद नलिने व्यवस्था गरेकाले २०८३ मा मात्र नयाँ नेतृत्व आउने उनले बताए । उनले भने, “विधानले दिउन्जेल, कार्यकर्ताले विश्वास दिउन्जेल ओली नै हो, प्रधानमन्त्री हो । हाम्रो पार्टीमा ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम रावलजस्ता नेताहरु पनि हुनुहुन्छ । अहिलेको स्थिति हेर्दा २०८३ मा मात्र एमालेमा नयाँ नेतृत्व आउँछ ।” उनले विधान महाधिवेशनमा प्रत्येक प्रदेशमा उपाध्यक्ष र सचिव तथा वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्न सुझाइएको पनि बताए ।
नेता पोखरेलले नेकपा (एकीकृत समाजवादी) अध्यादेशले बनेको प्रायोजित पार्टी भएको आरोप लगाए ।