काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयागले ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको फाइल नियन्त्रण लिँदाको प्रक्रिया र प्रस्तुति गलत भएको उनको दाबी छ ।
मुख्यमन्त्री राउतले भने, “मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ कार्यक्रम मुलुककै गौरवको योजना हो । हामीले ई–बिडिङबाट विधि, प्रक्रिया र खरिद ऐनलाई टेकेर काम गरेका छौं । तर अख्यितारले जुन किसिमले मिडियाबाजी गरेर छापा मार्यो, त्यसले हामीलाई भ्रष्टाचारी भनेर बदनाम गर्ने दुस्प्रयास गरिएको छ ।”
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई फोनमा आफूले नधम्काएको पनि उनले बताए । उनले थपे, “मुख्यमन्त्री कार्यालयको छानबिन गर्दा मलाई कुनै आपत्ति छैन । दोषी छ भने कारबाही गरे पनि हुन्छ । तर नाटकीय रुपमा भएको मिडियाबाजीका विषयमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसँग मैले फोन गरेर शैली गलत भएको बताएँ, उहाँले पनि स्वीकार गर्नुभयो । अख्यितार भनेको पनि आकाशबाट, इन्द्रलोक, चन्द्रलोक या अर्को संसारबाट आएको त होइन नि ?”
संघीयता विरोधीले प्रदेश सरकारविरुद्ध षडयन्त्र गरिरहेको उनको आरोप छ ।