काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्का आफू गुटरहित कांग्रेस निर्माण गर्न लागिरहेको बताएका छन् । कांग्रेस बलियो भए मात्र मुलुकले निकास पाउने उनको दाबी छ ।
नेता खड्काले भने, “गुटका कारण कांग्रेस कमजोर भयो । जनता अधिकार र सुशासनबाट वञ्चित भए । त्यसकारण न्यायोचित निर्णयका आधारमा गुटरहित कांग्रेस निर्माण गर्नुपर्छ भनेर हामी लागिरहेका छौं । संखुवासभा जिल्लाको कुरा गर्नुहुन्छ भने वडा र पालिका अधिवेशन लगभग सर्वसम्मतिमै नेतृत्व चयन भएका छन् । जिल्ला अधिवेशन पनि सर्वसम्मतिमै हुने अवस्था छ ।”
नेता खड्काले पुरानो र नयाँ पुस्ताको संयोजनबाटै पार्टी अघि बढ्ने बताए । उनले थपे, “पुरानो पुस्ताले विश्राम गर्नैपर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । युवाहरुमात्र हुनुपर्छ भन्ने पनि मान्दिनँ । अनुभवीलाई साथमा लिएर युवाहरुलाई पनि नेतृत्वमा लानुपर्छ भन्ने हो । मैले संखुवासभाको जिल्ला सभापतिमा इच्छा व्यक्त गर्दा मेरो बुबासँग काम गरेका, अग्रज र समकालीन नेताहरुले पनि चाहना राख्नुभएको थियो । पछि दीपक खड्का उपयुक्त मान्छे हो भन्ने निष्कर्ष आयो ।”
तपाईं शेरबहादुर देउवाको पक्षमा हो कि रामचन्द्र पौडेलको पक्षमा भन्ने प्रश्नमा नेता खड्काले पार्टीलाई कसरी अघि बढाउने, कुन पुस्ताका कुन व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने भन्ने कुरामा छलफल र मन्थन आवश्यक हुने बताए ।
