देउवासँगै थिएँ र देउवासँगै छुः विश्वप्रकाश शर्मा

काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवा दोस्रो पटक सभापतिमा उम्मेद्वार बन्न चाहनु स्वाभाविक भएको बताएका छन् । आफू देउवा समूहमै रहेको र नयाँ–पुरानो पुस्ता मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको धारणा छ ।

प्रवक्ता शर्माले भने, “मैले भदौ २४ गते बीपी स्मृति दिवसमा सुन्दरीजल गएर महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेको हुँ । यसक्रममा मैले सभापति, उपसभापति, वरिष्ठ नेताहरुसँग खुला र पारदर्शी भेटघाट गरेको हुँ । महामन्त्रीको उम्मेद्वार बन्दै गर्दा सभापतिका उम्मेदवारहरुसँग परामर्श हुनु स्वाभाविक हो । तपाईंहरुलाई थाहा छ कि छैन, म प्रवक्ता बनेर देउवासँग बसेको होइन । तेह्रौं महाधिवेशनमा मैले विमलेन्द्र निधि, पूर्णबहादुर खड्काकै पंक्तिमा रहेर देउवालाई साथ दिएको हुँ । त्यो पनि दोस्रो चरणमा होइन, पहिलो चरणमै । त्यसकारण यसमा अन्यथा सोच्ने कुरा हुन्न ।”

शर्माले थपे, “हाम्रो विचार समूहमा अहिले शेरबहादुर देउवासँगै गोपालमान श्रेष्ठ, विमलेन्द्र निधिले पनि सभापतिमा आकांक्षा राख्नुभएको छ । तर हामी सबै जना एक ठाउँमा उभिएर अगाडि जान्छौं । एउटा कुरा के भने २० वर्षदेखि सभापति हुनुभएको होइन, एक पटक सभापति बन्नुभएको हो, दोस्रो पटक हुन लाग्नुभएको हो । उपसभापतिले सभापतिको दाबी गर्नुभएको हो, पाका नेता भएकाले गोपालमानले दाबी गर्नुभएको हो, यो सबै कुरा छलफलकै क्रममा छ । त्यसैले यसबाट कोही पनि विचलित हुनु जरुरी छैन ।”

पार्टीमा यही पुस्ताले मात्र नेतृत्व गर्छ भन्न नमिल्ने उनको जिकिर छ । शर्माले भने, “कतिपय परिवारमा चार पुस्ता हुन्छ, कुनैमा तीन पुस्ता । हजुरबा, हजुरआमा, बुबाआमा, स्कुल-कलेज गइरहेको नाति पुस्ताको परिवार सुन्दर हुन्छ, जीवन्त हुन्छ । नेपाली कांग्रेस पनि पुरानो पार्टी भएकाले विभिन्न पुस्ता समेटिएका छौं । कहीँ पुरानो पुस्ताले नेतृत्व गर्छ त कहीँ नयाँ पुस्ताले । नेतृत्व भनेको हरियो रुखजस्तै हो, पुरानो भए पनि नयाँ भए पनि दिने अक्सिजन नै हो । त्यसले पार्टीलाई तरोताजा बनाइराख्छ ।”

निर्वाचनको कार्यतालिका १५ दिन अगाडि या पछाडि भए पनि महाधिवेशन सुनिश्चित भएको उनले बताए । उनले भने, “जहाँ क्रियाशील सदस्यता नामावलीको विवाद टुंगियो, त्यहाँ प्रक्रिया सुरु भइसक्यो, जहाँ टुंगिएको छैन, त्यहाँ पनि प्रक्रिया सुरु हुन्छ ।”

देउवा सरकार सफल र असफल दुवै भन्न नमिल्ने उनको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *