काठमाडौं, असोज १३ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटुरोग ‘एक नम्बर किलर’ भएकाले यसमा सचेत हुन सबैलाई आग्रह गरेका छन् । विश्व मुटुरोग दिवसका अवसरमा कुरा गर्दै डा. कोइरालाले ३०-४० वर्षको उमेरदेखि नै सुगर र ब्लड प्रेसर नाप्ने अनि त्यसलाई नियन्त्रण गर्ने हो भने मुटुरोगीको संख्या कम हुने बताए ।
“बालबालिकामा जन्मजात मुटुरोग देखिन थालेको छ । कतिपयको घाँटी दुख्ने रोगले समस्या निम्ताएको छ, अनुहार नीलो हुने, स्याँस्याँ हुने आदि लक्षण देखिन्छन्, बेलैमा चिकित्सकको परामर्श लिएमा बँच्न सकिन्छ,” डा. कोइरालाले भने, “वयस्कले पनि ३०-४० वर्षको उमेरदेखि नै ब्लडप्रेसर र सुगर नाप्ने आदि गर्दा बेलैमा मुटुरोगको संकेत मिल्छ । र, नियमित व्यायाम र खानपिनमा ध्यान दिने हो भने स्वास्थ्य केही सहज हुन्छ ।”
मुटुरोग लाग्न नदिने मनन गर्नुपर्ने कुरा के के हुन् भन्ने प्रश्नमा उनले भने, “मुटु सहित नसर्ने रोग लाग्न नदिन आफैं जिम्मेवार बन्नुपर्छ । अनियन्त्रित तरिकाले खानपिन गर्नुहुन्न । कार्बोहाइड्रेट, बोसोयुक्त र गुलियोपन भएका खाना मिलाएर खानुपर्छ । धूमपान र मद्यपान छोड्नुपर्छ । पसिना निकाल्ने खाले व्यायाम नियमित गर्नुपर्छ । सुगर र प्रेसर नियन्त्रणमा राख्नुपर्छ । तनाव व्यवस्थापन गर्नुपर्छ र मोटोपनलाई समयमै रोक्नुपर्छ ।”
मुटुरोग लगायत नसर्ने रोगका कारण राष्ट्र र परिवारले ठूलो बोझ उठाउनु परिरहेको उनको अनुभव छ । उनले थपे, “भन्न सजिलो, गर्न गाह्रो । मैले भनेका कुरा सबैलाई थाहा छ । अनुशासित जीवनशैली अँगाल्न नसक्दा कतिपय युवा उमेरमै ठाउँको ठाउँ ढलेर मृत्युको मुखमा पुग्ने, अपांग भएर या डराई डराई बाँच्नुपर्ने अवस्थामा छन् । न धूमपान छाड्ने, न मद्यपान छाड्ने ।”
जनता जिम्मेवार हुने अनि सरकारले नयाँ नयाँ पहल गरेर सुगर र प्रेसरका न्यूनतम परीक्षण निःशुल्क गर्ने हो भने मुटुरोगीको संख्यामा कमी आउन सक्ने उनको आकलन छ । उनले भने, “समयमै मुुटुरोग पत्ता लगाउन सके राष्ट्रिय धनजनको क्षति कम गर्न सकिन्छ । सरकारले सुगर र ब्लडप्रेसरको निःशुल्क परीक्षणको व्यवस्था मिलाउन सक्नुपर्छ । किनभने प्रायः जसो पैसा खर्च हुन्छ भनेर जँचाउनै जाँदैनन् । यसो गर्दा परिवार र सरकारको उपचार खर्चमा महँगो हुन पाउँदैन ।”