फोहोर शून्य निकुञ्ज अभियान सञ्चालन

सौराहा । नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान सुुरु भएको छ । निकुञ्जभित्र जथाभावी फालिने फोहोरका कारण वन्यजन्तु र जैविक विविधता संरक्षणमा प्रभाव परेको भन्दै निकुञ्जलाई फोहोर शून्य बनाउने अभियान थालिएको हो ।

विश्व वन्यजन्तु कोषको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र प्राकृतिक संरक्षण कोषसँगको समन्वयमा क्रियसन नेपालले ‘फोहोर शून्य निकुञ्ज’को अवधारणासहित अभियान सुरु गरेको हो । अभियान सफल बनाउन निकुञ्जले छोएका स्थानीय तहको समेत समन्वय र सहकार्य जरुरी रहेको क्रियसन नेपालकी परियोजना प्रमुख सुजाता कोइरालाले जानकारी दिए।

“हामीले चितवन निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाउने गरी अभियान थालेका छौँ”, कोइरालाले भने, “निकुञ्जभित्र फालिने फोहोरले निकुञ्जका वन्यजन्तु तथा जैविक विविधतामै गम्भीर असर गर्न थालेको छ ।” अझै निकुञ्ज आसपासका क्षेत्रमा रहेका स्थानीय तहहरूले फोहोर फाल्ने डम्पिङ साइट जङ्गल तथा नदी किनारमा बनाउँदा पनि त्यसको प्रत्यक्ष असर वन्यजन्तुमा पर्ने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्जलाई फोहोरबाट बचाउनु राम्रो काम भएको प्रतिक्रिया दिन्छन् ।

“बाघ, गैँडा, हात्तीजस्ता जनावर मरेर पोस्टमार्टम गर्दा त्यसको पेटमा प्लास्टिक भेटिएका उदाहरण प्रशस्त छन् । यसका लागि पनि निकुञ्जभित्र फालिने फोहोर नियन्त्रण हुन जरुरी थियो”, उनले भने ।
निकुञ्ज घुम्न आउने पर्यटकले कुरकुरे, चाउचाउ, बिस्कुट, फ्रुटीजस्ता जङ्क फुड खाएर त्यसको प्लास्टिकका खोल जथाभावी फाल्ने गर्छन् । यस्ता खोलमा हुने नुनिलो र गुलियोको मात्राले वन्यजन्तुले यस्ता प्लास्टिक चाट्दाचाट्दै निल्ने गर्छन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *