काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सत्ता र राज्यसत्ता दुरुपयोग गरेर महाधिवेशन गर्नुभन्दा सीधै सभापति घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन् । केन्द्रीय निर्वाचन समिति पुलिस-प्रशासन र गुन्डागर्दीमा पनि मूकदर्शक बनेको उनको आरोप छ ।
नेता केसीले भने, पार्टीको विधि, विधान र नियमलाई कुल्चेर सत्ता र शक्तिको स्रोत दुरुपयोग गरी जबर्जस्ती पार्टी कब्जा गर्ने खोज्नु दुःखद पक्ष हो । निष्पक्ष र पारदर्शी ढंगले निर्वाचन भए पो परिणाम स्वीकार्ने हो । बलजफ्ती गरेर हारेमा त्यसको तिक्तता लिएर पार्टी कहाँ पुग्छ ? महाधिवेशन भनेको विपक्षी दलसँगको प्रतिस्पर्धा होइन, आन्तरिक प्रतिस्पर्धा हो । यस्तो पनि आन्तरिक प्रतिस्पर्धा हुन्छ ? यस्तो अधिवेशन गर्नुभन्दा सीधै सभापति घोषणा गरे भइहाल्यो नि ।”
नेता केसीले केन्द्रीय निर्वाचन समिति गलत क्रियाकलापको मतियार बनिरहेको आरोप लगाए । उनले थपे, “हुन त निर्वाचन समितिमा कानुनवेत्ता साथीहरु छन् । उनीहरुले न्यायिक निर्णय गर्नुपर्नेमा पदाधिकारीको आदेश तामेल गरिरहेका छन् । मूकदर्शक भएर बसिरहेका छन् । निर्वाचन निष्पक्ष, पारदर्शी र विधिसम्मत हुन सकेको छैन । डडेलधुरालगायत १०–१२ जिल्लामा विभिन्न उजुरी परेका छन्, निर्णय भएको छैन । उनीहरुले न्यायिक निर्णय गर्नुपर्ने होइन ?”
पार्टीको संस्थापन पक्षले महाधिवेशन नचाहेको पनि उनले बताए । उनले भने, “हिमाली, पहाडी र मधेस अलअलग कार्यतालिका आएको छ । कार्यतालिका मनपरी दसौंचोटि संशोधन गरिएको छ । मिति सार्दै सार्दै महाधिवेशन नै नगर्ने तहमा पुर्याएका छन् । कुन दिन के नोटिस आउँछ, कसैलाई थाहा छैन । पूर्व पदाधिकारीका नाममा पार्टी विधानकै मौलिकतामा परिवर्तन गरिएको छ । यो केन्द्रीय कार्यसमिति राखेर छलफल गर्नुपर्ने होइन ?”
