डोटी। सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन् । दुईवटा कार्यालय स्थापना गरी २०७१/७२ सालमा आयोजनाको ठेक्का भएको थियो । सुरुदेखि नै सो आयोजना कछुवा गतिमा निर्माण भइरहेको छ ।
३ सय ५९ कुल लम्बाइ रहेकोे सेती राजमार्गको दुई खण्ड बनाएर निर्माण कार्य भइरहेको छ । अछाम र बझाङ जिल्लामा दुईवटा कार्यालय स्थापना भएका हुन् । नेपालको उत्तरी दक्षिण जोड्ने सबैभन्दा छोटो दूरी रहेको सुदूरपश्चिम प्रदेशको गौरवको योजना सेती राजमार्ग हो ।
कैलालीको टीकापुर भारतसँग जोडिएको तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य छ । निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि सेती लोकमार्गको १ सय ९२ किलोमिटर सडकमा ट्र्याक खोल्नै बाँकी छ । कुल ३ सय ५९ किलोमिटर लामो लोकमार्ग निर्माणको काम बजेट अभावका कारण अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेको हो । सेती लोकमार्ग दक्षिणी खण्ड २ सय ४२ किलोमिटर सडक योजना कार्यालय साँफेबगरले हेर्दै आएको छ ।
दक्षिणीखण्ड बौनियादेखि ठुलीगाडसम्म रूख कटानको आदेश नआउँदा तीन वर्ष निर्माणको काम अवरुद्ध भएको थियो । गत वर्ष मात्र रूख कटानको आदेश आएपछि निर्माणको काम अघि बढाइएको थियो । यो खण्डअन्तर्गत हाल चारवटा पुल र बौनियादेखि ठुलीगाडसम्म सडक निर्माणको काम भइरहेको योजना कार्यालयले जनाएको छ ।
कैलालीको भागमा ६ दशमलव ५ किलोमिटरभित्र कालोपत्रेको काम गरिएको छ । कालोपत्रे गरिएका अन्य राजमार्गका सडकखण्डसँग यो लोकमार्गको झन्डै २० दशमलव पाँच किलोमिटर सडकखण्ड मिसिएको छ । चैनपुरदेखि कैलालीको टीकापुरसम्मको करिब २ सय ४२ किलोमिटर लामो सेती लोकमार्ग दक्षिणी खण्डमध्ये डोटी, बझाङ र अछाममा रेखांकन गरिएको कतिपय ठाउँमा समेत ट्र्याक खोल्न बाँकी छ ।
ठुलीगाड हुँदै सेरीगाड साँफेबगरसम्म १ अर्ब ५० करोडको बहुवर्षीय ठेक्का स्वीकृतका लागि आयोजना कार्यालयले मन्त्रालयमा फाइल पेस गरेको छ । यो खण्डअन्तर्गत ३० करोडको ठेक्का सम्झौता गरिएको भए पनि ७ करोडबराबरको काम भएर सम्झौता अवधि सकिएपछि थप निर्माणको काम अघि बढ्न नसकेको आयोजना कार्यालयले जानकारी दिएको छ ।
बजेट अभावकै कारण धेरै स्थानमा सडकको काम हुन नसकेको सेती लोकमार्ग दक्षिणी खण्ड सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी दमनकुमार विष्टले बताए । ‘प्रतिकिलोमिटर सडक निर्माण गर्न ५ करोड आवश्यक पर्छ । तर, वनको अवरोध र बजेट अभावका कारण निर्माणले अपेक्षित गति लिन सकेको छैन,’ उनले भने ।
यस्तै, बौनियाँदेखि ठुलीगाडसम्मको ५५ किलोमिटर ठेक्का भएर काम सुरु भएको छ । डोटी खण्डमा जंगलको काम भइरहेको छ । वन तथा वातावरण मन्त्रालयले रूख कटानको आदेश दिएकाले त्यो खण्डमा रूख कटानको काम भइरहेको सूचना अधिकारी विष्टले जानकारी दिए ।
अछाममा ठेक्का प्रक्रियामा रहेको छ । त्यहाँ एउटा गाड रहेकाले पुलका लागि ठेक्का प्रक्रिया सुरु भएको विष्टले बताए । यस्तै, बाजुरा र बझाङ क्षेत्रमा चारवटा पुल रहेका छन् । त्यसको पनि ठेक्का प्रक्रिया सुरु भइरहेको छ । दक्षिण खण्डअन्तर्गत एउटा ठेक्का ३० करोडमा भएको छ ।
सेती राजमार्गको टीकापुर, बौनिया, बैनिया ठुलीगाड, ठुलीगाड डोटीको सिलीगाडसम्म काम भइ रहेको छ । यसका साथै अछामको साँफेगर हुँदै घुगरकोटबाट बाजुराको बिडासैन थामालेख हुँदै ट्र्याकसमेत खुल्न नसकेको आजको राजधानी दैनिकमा खवर छ ।