अब जसपा र एकीकृत समाजवादीलाई कुरेर अलमलिने बेला छैनः कांग्रेस नेता पाण्डे

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जसपा र नेकपा (एकीकृत समाजवादी) लाई कुरेर तीन महिनासम्म मन्त्रिपरिषद् विस्तार नगरी बस्नु नहुने बताएका छन् । जसपा र एकीकृत समाजवादीका मन्त्रालय बाँकी राखेर कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा उनको जोड छ ।

नेता पाण्डेले भने, “मन्त्रिपरिषद् विस्तारमा पार्टीबाट सहयोग नभएको भन्ने कुरा सत्य होइन । तर सत्ता गठबन्धनका घटकहरुका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलो भइसकेको चाहिँ यथार्थ हो । सत्ता घटकहरुका आन्तरिक समस्या छन्, होलान् तर अब कसैलाई कुरेर बस्ने अनि अलमलिने कुरा छैन । जसपा र एकीकृत समाजवादीलाई आउन समस्या छ भने अहिले कांग्रेस र माओवादीले मन्त्रिपरिषद् विस्तार गरेर जनतालाई विश्वस्त बनाउन सक्नुपर्छ ।”

नेता पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि पार्टी सभापति बन्न कुनै छेकबार नभएको पनि बताए । उनले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यता अनुसार स्थापित पार्टी हो । यहाँ जो सुकैले प्रतिस्पर्धा गर्न पाउँछ । देउवाले दोहोरिने चाहना राख्नुभएको छ । तर आधिकारिक घोषणा गर्नुभएको छैन । त्यसैले त्यसबारे टिप्पणी गर्न हतार हुन्छ । पालिकास्तरीय चुनावै नसकी केन्द्रको उम्मेदवारी घोषणा गर्नु सान्दर्भिक पनि हुन्न । त्यसरी घोषणा गरेर जितिने पनि होइन ।” उनले आफू जुन पदमा उपयुक्त हुन्छ, त्यही पदमा उम्मेदवारी घोषणा गर्ने बताए ।

पार्टीलाई पुरानो र नयाँ पुस्ताको सम्मिश्रणबाट सञ्चालन गर्नुपर्ने पाण्डेले बताए । उनले थपे, “कसैले चाहे पनि नचाहे पनि लगभग ३५ प्रतिशतभन्दा बढी प्रतिनिधि नयाँ अनुहारका छन् । युवा साथीहरु वडा, क्षेत्र, जिल्ला हुँदै क्रमिक रुपमा केन्द्रको नेतृत्व तहमा पुग्नुहुन्छ । अहिले सभापति र पदाधिकारीमा आउन नसक्नु होला तर नयाँ पुस्ताको बाहुल्य हुने देखिइसकेको छ । यो समयको आवाज हो ।” साथै उनले ३५ जिल्लाको क्रियाशील सदस्यता छानबिन विवाद अब तीनचार जिल्लामात्र बाँकी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *