काठमाडौं । अब नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) बाट कर्जा लिएका ऋणीले पनि पुनर्कर्जाको सुविधा पाउने भएका छन् । पुनर्कर्जा पाउनयोग्य ऋणीहरूले यस्तो सुविधा पाउने व्यवस्था गरिएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीवार पुनर्कर्जा कार्यविधि, २०७७ को तेस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाका योग्य ऋणीहरूले पुनर्कर्जाको सुविधा पाउँँदै आएका थिए । अहिले उक्त कार्यविधि संशोधन गर्दै पूर्वाधार विकास बैंकका ऋणीलाई पनि पुनर्कर्जाको सुविधा दिइने व्यवस्था गरेको हो । निफ्रा पूर्वाधार विकासका लागि स्थापना भएको बैंक हो ।
निफ्राका पुनर्कर्जाका लागि योग्य ऋणीहरूलाई कार्यविधिअनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा दिइने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पूर्वाधार विकास बैंकका ऋणीलाई पुनर्कर्जा दिने व्यवस्था गरिएको बताए ।
यस्तै, राष्ट्र बैंकले पुनर्कर्जा उपलब्थ गराउने क्षेत्रहरू पनि थप गरेको छ । राष्ट्र बैंकले विशेष पुनर्कर्जाको दायरा बढाएको हो । संशोधित कार्यविधिअनुसार अब ब्रोडवेन्ड प्रवद्र्धन गरी दुर्गम स्थानहरूमा सेवा पु¥याउने इन्टरनेट सेवाप्रदायक संस्थाहरूलाई पनि पुनर्कर्जा दिइने बताइएको छ ।
यसैगरी, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवाप्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकलाई पनि पुनर्कर्जा दिइने कार्यविधिमा उल्लेख छ । सञ्चार सेवाप्रदायक संस्थाहरूलाई पनि विशेष पुनर्कर्जा दिइने राष्ट्र बैंकको भनाइ छ । उनीहरूलाई अधिकतम २० करोड रुपैयाँसम्म पुनर्कर्जा दिइनेछ ।
सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योगलाई पनि विशेष पुनर्कर्जा दिने व्यवस्था गरिएको छ । त्यस्ता उद्योग स्थापना गर्न कर्जा लगेको भए विशेष पुनर्कर्जा पनि उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । त्यस्ता उद्योगलाई रू। ५० करोडसम्म पुनर्कर्जा दिइने बताइएको छ । आर्थिक अभियान दैनिकबाट