३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीबार सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

यसअघि बैंकले गत भदौ १७ गते सात दिन अवधिको २० अर्ब, २४ गते १४ दिनको ३० अर्ब र भदौ ३१ गते २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो ।

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाले नियमितरुपमा एसएलएफ सुविधा लिने गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आवमा बुधबारसम्म चार खर्ब नौ अर्ब ५६ करोड एसएलएफमार्फत उठाएका छन् । बैंक वित्तीय संस्थाले बुधबार मात्र १२ पटकमा २७ अर्ब २४ करोड एसएलएफमार्फत उठाएको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *