चन्द्रमामा रहेको बरफ अध्ययन गर्न नासाको मिसन

अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा पानी र बरफ खोज्न एउटा गुड्ने रोबट पठाउँदै छ । सो रोबट चन्द्रमाको दक्षिणी ध्रुवस्थित एउटा ज्वालामुखी पर्वतको मुख नोबल क्रेटरको पश्चिमी किनारामा उत्रनेछ । गल्फ खेलमा प्रयोग हुने गाडी जत्रै उक्त रोबट सन् २०२३ मा ७३ किलोमिटर फराकिलो क्षेत्रमा अवतरण गर्ने छ ।

चन्द्रमाको सो क्षेत्र लगभग स्थायी रूपमै छायामा रहेको छ । भाइपर मिसनले चन्द्रमामा मानव अन्वेषणको योजनालाई सहयोग गर्नेछ किनकि बरफ भेटिएमा त्यसलाई पिउने पानी र रकेटको इन्धनका रूपमा प्रयोग गर्न उत्खनन गर्न सकिनेछ । नासा यो दशकमा चन्द्रमाको सतहमा अन्तरिक्षयात्रीलाई पुनः पठाउन चाहन्छ ।

उसको आर्टिमिस कार्यक्रम अन्तर्गत पहिलो पटक महिला र पहिलो अश्वेत व्यक्ति चन्द्रमा उत्रने छिन् । यसले पृथ्वीको एक मात्र उपग्रहमा दीर्घकालीन रूपमा मानवीय उपस्थितिका लागि ढोका खोल्ने छ ।

क्यालिफोर्नियास्थित नासाको एम्स रिसर्च सेन्टरमा भाइपरको परियोजना प्रबन्धक ड्यानिअल एन्ड्र्यु मिसनले चन्द्रमाको बरफलाई निकाल्न कति सजिलो वा अप्ठ्यारो हुनेछ भन्ने बुझ्न सहयोग गर्ने बताउँछन् ।

चन्द्रमाका ध्रुवीय क्रेटरहरूमा अर्बौँ टन बरफ रहेको विभिन्न प्रमाणहरूले देखाएका छन् । त्यसले कहिल्यै पनि सूर्यको प्रकाश देख्न पाउँदैन र त्यस क्षेत्रको तापक्रम माइनस २२३ डिग्री सेल्सिअससम्म छ ।

स्थायी रूपमा छायामा रहने र धेरै चिसो वातावरण हुने भएकाले ती क्षेत्रमा ठूलो मात्रामा जमेको बरफ रहेको विश्वास गरिन्छ । ड्यानिअल एन्ड्र्यु भाइपरले वैज्ञानिकहरूलाई बरफ कहाँ, कति गहिरोमा र कति मात्रामा छ भन्नेजस्ता मुख्य प्रश्नहरूको जबाफ दिने बताए । भाइपरका प्रमुख परियोजना वैज्ञानिक एन्थोनी कोलाप्रिट पनि नासाको एम्समा पनि आबद्ध छन् ।

तर यो अपरिचित बरफयुक्त क्षेत्रको खोजीमा बाधाहरू छन् । रातमा एकदमै चिसो र दिनमा फेरि तातो हुने स्थानमा चल्न सक्ने रोभरको डिजाइन गर्नु चुनौतीपूर्ण छ ।

चन्द्रमाको दक्षिणी ध्रुवको क्षितिजमा सूर्यको किरण कम पर्छ र त्यहाँ लामो तथा चाँडै सर्ने खाले छाया पर्छ । प्रकाश र अँध्यारोको एकदमै तीव्र परिवर्तन हुँदा रोभरलाई खतराबाट बच्न कठिन हुनसक्छ । इन्जिनियरहरूले चन्द्रमाको भू–दृश्य अनुसार सावधानीपूर्वक मार्गहरूको योजना बनाउनुपर्ने हुन्छ।

रोबटले अगाडि आएको छायाबाट बचेर सोलार प्यानललाई सूर्यतर्फ राखेर आफ्नो ऊर्जाको तहलाई कायम राख्न सक्नुपर्छ । तर स्थायी छायामा रहेका कार्टरहरूमा प्रवेश गर्न आदेश दिइएपछि रोबटले चाहिँ अँध्यारोको सामना गर्नुपर्ने छ । नासाले बनाएको यो पहिलो हेडलाइटयुक्त रोभर हो ।

त्यसको सहायताले यसले अँध्यारा खोँचहरूभित्र पनि बरफको अवस्था पत्ता लगाउन सकोस् भन्ने उद्देश्य राखिएको छ । परियोजनाकी उप–प्रमुख वैज्ञानिक डार्लिन लिमका अनुसार एउटा समूहले पृथ्वीबाट ’रियल टाइम’मा रोबटलाई चलाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *