एसेन्सियोको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित

एजेन्सी । स्पेनिस विंगर मार्को एसेन्सियोले ह्याट्रिक गरेपछि रियल म्याड्रिडले स्पेनिस लिग ला लिगामा शानदार जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा म्याड्रिडले मालोर्कालाई ६-१ गोल अन्तरले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन मार्को एसेन्सियोले ह्याट्रिक पूरा गर्दा करिम बेन्जिमाले दुई र इस्कोले एक गोल गरे । मालोर्काको लागि काङ-इन लिले एक गोल फर्काए । खेलको तेस्रो मिनेटमै बेन्जिमाले गोल गर्दै रियल म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा एसेन्सियोले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।

२५ औं मिनेटमा होप्पेको पासमा लिले गोल गर्दै मोलार्कालाई २-१ गोलको स्थितिमा ल्याएका थिए । २९ औं मिनेटमा बेन्जिमाको पासमा एसेन्सियोले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई पहिलो हाफमा ३-१ गोलको अग्रता दिलाए । ५५ औं मिनेटमा बेन्जिमाकै पासमा एसेन्सियोले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गर्दै म्याड्रिडलाई फराकिलो जिततर्फ अगाडि बढाएका थिए ।

७८ औं मिनेटमा डेभिड अलाबाको पासमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई ५-१ गोलको अग्रता दिलाए । यस्तै ८४ औं मिनेटमा भिनिसियस जुनियरको पासमा इस्कोले गोल गर्दै म्याड्रिडलाई ६-१ गोलको जित दिलाए । जितसँगै म्याड्रिड ६ खेलबाट १६ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । पराजित मालोर्का ६ खेलबाट ८ अङ्कको साथ १० औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *