हकिमीको दुई गोलमा पीएसजी विजयी

एजेन्सी । मोरोक्कोका अचार्फ हकिमीले दुई गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको मेट्जलाई २-१ गोलले पराजित गर्दै लिगमा लगातार सातौं जित निकालेको हो ।

सेन्ट स्यम्फोरिनमा भएको खेलमा पीएसजीलाई जित दिलाउन अचार्फ हकिमीले दुई गोल गर्दा मेट्जको लागि किकी कोउयाटेले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमै हकिमीले गोल गर्दै पीएसजीलाई खेलमा अगाडि बढाएका थिए । ३९ औं मिनेटमा गुएयेको पासमा कोउयाटेले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।

दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा ड्यलान ब्रोन रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि मेट्ज १० खेलाडीमा समेटिएको थियो । ब्रोनले अनावश्यक रुपमा बल बाहिर फालेपछि उनले खेलको दोस्रो पहेंलो कार्ड पाएका थिए । रेफ्रीको निर्णयलाई आलोचना गरेपछि पिग्नार्डले मेट्जका मुख्य प्रशिक्षक फ्रेडेरिक एन्टोनेट्टीलाईपनि रातो कार्ड देखाएका थिए ।

यस्तै अतिरिक्त समयको पाँचौ मिनेटमा नेयमारको पासमा हकिमीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-१ गोलको जित दिलाए । जितसँगै पीएसजी ७ खेलबाट २१ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ । पराजित मेट्ज ७ खेलबाट ३ अङ्कको साथ लिगको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *