काठमाडौं। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जनवरीको अन्त्यसम्म बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन सुरु हुने बताएका छन् । बालबालिकालाई आवश्यक १ करोड खोप आवश्यक पर्ने, कोभ्याक्स अन्तर्गत ४० लाख मोर्डना खोपका लागि भुक्तानी भइसकेको र बाँकी खोप ल्याउन अन्तिम चरणमा कुराकानी भइरहेको उनको भनाइ छ ।
राज्यमन्त्री श्रेष्ठले भने, ‘बालबालिका लागि कोभिडविरुद्ध एक करोड खोप चाहिन्छ । कोभ्याक्स अन्तर्गत ४० लाख मोर्डना खोपका लागि भुक्तानी भइसकेको छ । बाँकी खोप ल्याउन अन्तिम चरणमा कुराकानी भइरहेको छ । सबै खोप जनवरीदेखि मार्चसम्म आइपुग्छ । र, जनवरीको अन्त्यसम्म बालबालिकालाई लगाउन सुरु हुन्छ । बालबालिकालाई जतिसक्दो चाँडो खोप लगाउनुपर्ने कुरामा सरकार गम्भीर छ ।’
शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछिका दुई महिनामा १ करोड ७७ लाख ५६ हजारले खोप आइसकेको र ३ करोड ५९ लाख आउने सुनिश्चितता भइसकेको उनले बताए । उनले भने, ‘अहिलेसम्म ५६ लाख जनताले पूर्ण खोप लगाइसकेका छन्, ६२ लाखले पहिलो डोज खोप लगाएका छन् । यसरी १८ प्रतिशत जनताले लगाइसकेका छन् । चीनबाट आएको ४४ लाख खोप लगाउनका लागि १० दिने खोप अभियान सुरु भएको छ । हामी अहिले एकै दिनमा तीन लाख खोपसम्म लगाउने अभियानमा छौं । दसैंसम्म १ करोड ५० लाख खोप दिने तयारीमा छौं ।’
राज्यमन्त्री श्रेष्ठले १८ वर्षभन्दा माथिका विद्यार्थीका लागि खोप उपलब्ध गराइसकेको र छुटेका सबैलाई लगाउने सुनिश्चितता भएको पनि बताए ।